सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा प्रहरी हत्याकाण्ड: हत्याको आरोपमा थप एक जना पक्राउ

२०७७ कार्तिक ५, १०:४८ खबर संवाददाता

धनगढी: प्रहरीले धनगढी उपमहानगपालिका–१० मा भएको प्रहरी हत्या प्रकरण थप एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही ठाउँका २० वर्षीय रोहित राना(ख) रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले बताए। 

प्रहरीले यसअघि प्रहरी असई गोविन्द विक र जवान रामबहादुर साउँदको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका ७ जनालाई सार्वजनिक गरिसकेको छ। प्रहरीले मंगलबार धनगढी उप–महानगरपालिका १० का ३१ वर्षीय पर्कु भन्ने रोहित राना(क), सोही स्थानका २० वर्षीय राजेन्द्र राना, ३० वर्षीय चोर भनिने सुरेश राना, २५ वर्षीय गब्बर भन्ने राजकुमार राना, २२ वर्षीय रामनिवास राना, २९ वर्षीय टल्लु भन्ने दलराम राना र २५ वर्षीय गोपाल भन्ने रामगोपाल रानालाई सार्वजनिक गरेको थियो। 

शनिबार साँझ गस्तीमा निस्किएका कैलालीको धनगढी उपमहानगरपालिका १२ को अस्थायी प्रहरी बिट जुगेडाका इन्चार्ज(असई) गोविन्द विक र प्रहरी जवान रामबहादुर साउँद मृत फेला परेका थिए। उनीहरुमाथि तस्कर समूहले आक्रमण गरेको खुलेको छ।

अवैध समानहरुको तस्करी गरी रहेका तस्करहरुको समूहलाई रोक्ने एवं नियन्त्रणमा लिने क्रममा तस्करहरुको समूहले योजनाबद्ध रुपमा धारिलो हतियारले प्रहार गरी दुवैजनाको हत्या गरेको खुलेको प्रहरीले जनाएको छ।

अनुसन्धानका क्रममा मोहना नदीबाट तस्करले केराउ निकासी गर्न खोजेका थिए। सोही समूहलाई रोक्न खोज्दा प्रहरीमाथि आक्रमण भएको हो।

कमेन्ट लोड गर्नुस