सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रहरी हत्या घटनामा तस्करीको नयाँ सिनारियो: मटरले निम्त्यायो ‘मर्डर’

२०७७ कार्तिक ४, ०६:३६ लखन चौधरी

धनगढी: धनगढीमा भएको असई र प्रहरी जवान हत्याकाण्डपछि चोरी तस्करी तथा अपराधको नयाँ परिदृष्य बाहिर आएको छ ।

हालसम्म खुला सीमा नाका भएर भारतबाट नेपालमा अवैध सामान भित्रिदै आएको आमबुझाइ छ । तर धनगढी उपमहानगरपालिका १२ जुगेडास्थित अस्थायी प्रहरी पोष्टका प्रमुख समेत रहेका प्रहरी सहायक निरीक्षक (असई) गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउद हत्या प्रकरण पछाडी नेपालबाट भारतमा मटर तस्करी हुने गरेको खुल्नमा आएको छ ।

प्रहरी हत्या घटनामा संलग्न आरोपमा पक्राउ परेकाहरुलाई सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता समेत रहेका प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले भने, ‘मटर तस्करीमा प्रहरीबाट अवरोध हुने तस्करहरुलाई पहिले नै आशंका थियो । उनीहरुले योजनाबद्ध ढंगले घटना घटाएको देखिन्छ । वारीबाट पारी मटर तस्करी हुने गरेको हाम्रो प्रारम्भिक  अनुसन्धानले देखाउँछ ।’

प्रहरीका अनुसार नेपालबाट भारतमा मटर तस्करी हुँदै आएको हो । प्रहरी हत्या घटनापछि ठूलो परिमाणमा मटर पारी पु¥याइएको खुल्नमा आएको छ । प्रहरी अनुसन्धानले हत्याको घटनापछि १ डल्लब मटर भारत पु¥याइएको छ । जसमा करिब ५० बोरा मटर रहेको प्रहरीको अनुमान छ ।

पछिल्लो समय मलेसियाबाट अनुदानको मटर नेपालमा आयात हुँदै आएको छ । नेपाली बजारमा सेतो मटर प्रतिकिलो ९० र हरियो मटर १२५ रुपैयामा बिक्री वितरण हुन्छ । तर भारतमा मटर आयातलाई प्रतिबन्ध गरिएको छ । भारतीय बजारमा यहाँबाट जाने मटर प्रतिकिलो १२० भारतीय रुपैयाँसम्ममा खरिद बिक्री हुन्छ । यद्यपी भारतमै प्रतिकिलो १६० देखि १६५ भारुमा खरिद बिक्री हुने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

त्यस्तै राती ८ बजेको समयमा गस्तीमा निस्केको प्रहरीमाथि तस्करहरुको गिरोहले राती १० बजेको समयमा योजनाबद्ध ढंगले आक्रमण गरेको प्रहरीले बताएको छ । घटनापछि उनीहरु अपराध लुकाउने उदेश्यले घटना स्थलदेखि ४ सय मिटर दक्षिण मोहना नदीमा लास फालेको प्रहरी नायव उपरिक्षक बिष्टले बताए ।

यसैबीच प्रहरीले घटनामा संलग्न रहेको आरोपमा मंगलबार ७ जनालाई सार्वजनिक गरेको छ । उनीहरु विरुद्ध ज्यान सम्बन्धी कसुरमा मुद्धा चलाएको कैलाली प्रहरीले जनाएको छ । 

लखन चौधरी दिनेश खबरका सम्पादक हुन्। उनले राजनीति, अपराध, आर्थिक, कला संस्कृति र समसामयिक विषयमा कलम चलाउँछन्।

कमेन्ट लोड गर्नुस