सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङको साइपालका च्याङ्ग्रा : पोखरामा बजार

२०७७ कार्तिक ४, ०२:५९ रासस

महेन्द्रनगर: सुदूरपश्चिमको पहाडी जिल्ला बझाङस्थित साइपाल हिमालको फेदको गाउँ धलनका उब्जन बोहरा बिक्रीका लागि भेडा/च्याङ्ग्रा लैजाँदै गर्दा कैलालीको अत्तरियामा भेटिए ।

व्यावसायिक रुपले भेडा/च्याङ्ग्रा पालन गर्दै आएको साइपाल गाउँपालिका–१ धलनका बोहरा यस वर्ष दशैँमा लागि बिक्री गर्न ११२ वटा भेडा/च्याङ्ग्रा लिएर पोखरा हिँडेका छन् । बझाङ सदरमुकाम चैनपुरसम्म पुग्न दुई दिन पैदल हिँडेर आएका बोहराले पोखरामा साइपालको भेडा/च्याङ्ग्राको व्यापार लामो समयदेखि रहेको बताए ।

“हाम्रो सुदूरपश्चिममा दशैं तिहारजस्ता चाडपर्वमा खसीको मासुलाई बढी महत्व दिन्छन् ।” बोहराले भने, “भेडा/च्याङ्ग्रामो माग पोखरा र काठमाडौँलगायत शहरमा बढी हुन्छ ।” विगत चार वर्षदेखि चाडपर्वका बेला भेडा/च्याङ्ग्रा खरिद बिक्रीमा सक्रिय उनले सात दिनको यात्रापछि पोखरा पुग्ने गरेको बताए ।

“बाटोमा चराउँदै लैजाँदा सात दिनमा भेडा/च्याङ्ग्रा पोखरा पु¥याउँछौँ ।” उनले भने, “सुदूरपश्चिममा यसको माग छैन ।” सैपालका स्थानीय अधिकांशले भेडा/च्याङ्ग्रा पालनलाई मुख्य व्यवसाय बनाउँदै आएका छन् । दुई दिनअघि मात्रै छ ट्रक भेडा/च्याङ्ग्रा पोखराका लागि यहाँबाट हिँडेका छन् ।

कोरोना भाइरस महामारीका बेला भेडा/च्याङ्ग्रा व्यापार समेत प्रभावित हुने अवस्थामा पुगेको बोहराको भनाइ छ । “सैपालमा च्याङ्ग्राको ओजन हेरेर रु १९ हजारदेखि २७ हजारसम्म खरिद गरेर ल्याएको छु”, उनले भने, “यो व्यापारमा कहिले नाफा त कहिले घाटा पनि हुन्छ ।” उनले पूरै गाउँपालिकाभरिका किसान लामो समयदेखि च्याङ्ग्रा पालन गर्दै आएको बताए ।

स्थानीय तहमा जनप्रतिनिधि आइसकेपछि सैपालमा विकासका योजना अघि बढिरहेका छन् । स्थानीय सरकार आइसकेपछि सडक पुर्वाभारसित सैपाल जोडिने क्रममा रहेको उनको भनाइ छ । चीनको उरै नाका नजिक पर्ने सैपाल गाउँपालिकाका किसान भेडा/च्याङ्ग्रा चराउन चीनको भूमिसम्म जाने गरेको बोहराको भनाइ छ ।

“चीनको सीमा क्षेत्रका गाउँका चिनियाँ पनि गाईवस्तु चराउन हाम्रोमा आउँछन्”, उनले भने, “हिमालमा भेडा÷च्याङ्ग्रा पालन गर्न सहज भने छैन ।” सैपालमा गहुँ, जौ र आलु फल्ने गरेको छ । स्थानीय बढीजसो भेडा/च्याङ्ग्रा बिक्री गरेर परिवारको खर्च चलाउने गरेका छन् ।

“दशैँमा पोखरासितको च्याङ्ग्रा व्यापारले हाम्रो वर्षभरिको खर्च चल्छ”, उनले भने, “पोखराबाट पनि दशैँमा च्याङ्ग्रा माग गर्दै धेरै फोन आउँछन् ।” बझाङबाट पोखरा पु¥याएबापत प्रतिट्रक रु ७० देखि ८० हजार ढुवानी खर्च लाग्ने गरेको छ । साइपाल गाउँपालिकाका अध्यक्ष राजेन्द्रबहादुर धामीले सैपालका किसानले वार्षिक रु डेढदेखि दुई करोडको भेडा/च्याङ्ग्राको व्यापार गर्ने गरेको बताए ।

“पहिले स्थानीयस्तरमै भेडा खाद्यान्न ढुवानीमा बढी प्रयोग गरिन्थ्यो”, अध्यक्ष धामीले भने, “गाउँपालिकाका ५० प्रतिशतले भेडा/च्याङ्ग्रा पालनमा लागेका छन् ।” पाँच वडा रहेको साइपाल गाउँपालिकाको जनसङ्ख्या तीन हजार रहेको छ । विगतमा भेडा/च्याङ्ग्राको व्यापार सन्तोषजनक नरहे पनि २०७३ सालयता भने पोखरा र काठमाडौँ बिक्रीका लागि लैजान थालिएको अध्यक्ष धामीको भनाइ छ ।

उनले भेडा/च्याङ्ग्रा पालनमा सक्रिय किसानलाई सङ्घ र प्रदेश सरकारबाट अनुदान दिने विषयमा कुराकानी भइरहेको बताए । “यहाँ स्थानीयले जडीबुटीको व्यापार पनि छिमेकी मुलुक चीनसित गर्दै आएका छन्”, उनले भने, “चैनपुरबाट यहाँ पुग्न हिँडेर दुईदेखि तीन दिन लाग्छ ।”

कमेन्ट लोड गर्नुस