सुदूर नेपाललाई विश्वसँग जोड्दै

तस्करीको ट्रान्जिट प्वाइन्टमा जनपथ र सशस्त्रको बेमेल, निम्त्यायो दुर्घटना !

२०७७ कार्तिक ४, ०६:४४ लखन चौधरी

धनगढी : धनगढी उपमहानगरपालिका–१२ जुगेडास्थित अस्थायी प्रहरी पोष्ट अगाडीको गोलघरमा सोमबार विहान केही प्रहरी निराश मुद्रामा भलाकुसारी गरिरहेका थिए । कोही रातभरीको ड्युटीले थकित देखिन्थे । कोही भने भित्रभित्रै मुरमुरिएर रिस लुकाउने प्रयत्नमा थिए ।

दिनेश खबर टीम पुगेपछि एकछिन शान्त भए । पोष्टका प्रमुखसमेत रहेका प्रहरी सहायक निरिक्षक (असई) गोविन्द बिकको हत्या र प्रहरी जवान साउद बेपत्ता भएको घटनामा तपाईहरुको कोहीमाथि अशंका छ ? भन्ने सवालमा एक जना प्रहरीको मुखबाट फुत्कियो, ‘हाम्रो यहाँ जनशक्ति पनि कम छ । आवश्यक साधन स्रोत पनि प्रयाप्त छैन । मोबाइलको नेटवर्क पनि मुस्किलले टिप्छ । नजिकै रहेको सशस्त्रले सहयोगै गर्दैन । सहयोग भएको भए यो अवस्था हुन्थेन होला ।’

सो अस्थायी प्रहरी पोष्टमा २ महिलासहित १० जना प्रहरी कार्यरत छन् । जहाँ १ थान मोटरसाइकल, २ थान थी्र नट थ्री राइफल र १ थान पेस्तोल मात्रै छ । जुनकारण प्रभावकारी कार्यसम्पादन हुुन नसकेको उनीहरुको दुखेसो छ ।

उनीहरुको भनाइको आशय घटना स्थल नजिकै धनगढी उपमहानगरपालिका १० मा स्थापना भएको सशस्त्र प्रहरी बल नेपाल (बिओपी)ले आफ्नो शिरानीमै हुने चोरी तस्करीको घटनामा आँखा चिम्लेपछि रहस्यमयी र दर्दनाक घटनाको सामना गर्नुपरेको थियो ।
घटना स्थल रहेको धनगढी उपमहानगरपालिका १० जुगेडा कटानस्थित बनकट्टी मोहनाघाट र अस्थायी प्रहरी पोष्टबीचको दुरी करिब ३ किलोमिटर रहेको छ । जहाँबाट शनिबार राती ८ बजे असई बिक र प्रहरी जवान साउद गस्तीमा पुगेका थिए ।
अबेर रातीसम्म कार्यालय प्रमुख नफर्केपछि उप्पलो निकायलाई सम्पर्क संगै खोजीकार्य किन गरिएन ? भन्ने अर्को जिज्ञासामा अर्का प्रहरीले थपे–‘किन सम्पर्क गर्नु ? उहाँहरु स्लिपिड्ढ ब्यागसहित जानुभएको थियो ।’

उनको भनाइ अनुसार असई बिक र जवान साउद राती त्यहै बस्ने गरी गस्तीमा निस्किएपछि कार्यालयमा रहेका अन्य सहकर्मी ढुक्क थिए ।

किनकी घटना घटेको अघिल्लो दिन सोही अस्थायी प्रहरी पोष्टले ठूलो मात्रामा अवैध सामान बरामद गरेको थियो । जुनकारण दुःखद घटनाको परिकल्पना कसैलाई थिएन, केवल सफलताको । तर आइतबार विहान अपत्यारिलो घटना बाहिरिएपछि प्रहरी संगठन नै शोकमा डुब्यो ।

घटना स्थल बनकट्टी मोहनाघाट र गत चैत २८ गते स्थापना भएको सशस्त्र प्रहरी बल नेपाल (बिओपी) जुगेडाबीचको दुरी करिब १ किलोमिटर मात्रै छ । जुन घाट भएर दैनिक ठूलो मात्रामा चोरी तस्करी हुँदै आएको छ । भारतीय बजार पलिया, सुदाबाट धनगढीलगायत बजारमा अवैध सामान ओसारपसार हुँदै आएको हो । घटना घटेको अर्कोदिन (सोमबार) सोही घाटको बाटो हुँदै रासायनिक मल भित्रिएको निशान एक प्रहरीले देखाए । बाटोमा खसेको रासायनिक मल देखाउँदै उनले भने, ‘हेर्नुुस् यो आज राती ल्याउँदा खसेको मल हो । यत्रो ठूलो घटना घटेपनि तस्करलाई फरक परेन ।’

२ प्रहरी संगठनबीच चोरी तस्करी नियन्त्रणमा देखिएको समन्वयको अभावले दुःखद घटनाको सामना गर्नुपर्ने जनपथ प्रहरीको आरोप छ । तथापी सशस्त्र प्रहरी बल नेपाल (बिओपी) जुगेडाले अस्थायी प्रहरी पोष्टबीच समन्वय गरेर काम गर्दै आएको बताउँछ ।

बिओपी जुगेडाका इन्सपेक्टर खेमराज जोशीले सो बनकट्टटी मोहनाघाट हुँदै अवैध सामान ओसार पसार हुँदै आएको स्वीकार गरे । तर जनपथ प्रहरी संगको सहकार्यमा नियन्त्रणको कार्य संगै सीमामा हुने अन्य अपराधिक गतिविधि नियन्त्रणको कार्य हुँदै आएको दाबी गरे । प्रहरी संगठनबीच कुनै असमझदारी नभएको उनको भनाइ छ ।

धनगढी उपमहानगरपालिका–१० का वडा अध्यक्ष राजेन्द्र रानाले सो क्षेत्रमा प्रहरीलाई साधन स्रोत सम्पन्न बनाएर चोरी तस्करी नियन्त्रण गर्नुपर्नेमा जोड दिए ।

त्यस्तै, सो क्षेत्रमा विगतका दिनमा पनि अपराधिक घटनाहरु घटेको पाइएको छ । असोज ९ गते सोही बिओपी जुगेडामा कार्यरत प्रहरी जवानको हत्या गरिएको थियो । भने करिब ३ वर्षअघि नेपाल भारत सीमा जोडिएको बंगरा कटानको मोहना नदी पारी तस्करहरुले १ जना एसएसबीको हत्या गरी फालेका थिए ।

 

लखन चौधरी दिनेश खबरका सम्पादक हुन्। उनले राजनीति, अपराध, आर्थिक, कला संस्कृति र समसामयिक विषयमा कलम चलाउँछन्।

कमेन्ट लोड गर्नुस