सुदूर नेपाललाई विश्वसँग जोड्दै

वेपत्ता प्रहरी जवानका परिवारमा जिवितै छ, आशाको त्यान्द्रो

 तस्बिर :लखन चौधरी/मोहना किनारमा वेपत्ता प्रहरी जवान साउदकी श्रीमती खिमा
तस्बिर :लखन चौधरी/मोहना किनारमा वेपत्ता प्रहरी जवान साउदकी श्रीमती खिमा
२०७७ कार्तिक ३, ०२:०८ जनक विष्ट

धनगढीः शनिबार दिउँसो काठमाडौँबाट अछाम पुगेपछि प्रकाश र रामबहादुरबीच टेलिफोन संवाद भयो । सहोदर दाजुभाई भएपनि रामबहादुर नेपाल प्रहरी र प्रकाश नेपाली सेनाका जागिरे हुन् ।

रामबहादुरले नै प्रकाशलाई फोन गरेर सोधेका थिए, ‘यात्रा कस्तो रह्यो भाई ? घरतिरको हालखबर के छ ?’ प्रकाशले पनि आफू सकुसल घर पुगेको दाजुलाई भनेका थिए । त्यही बेला उनले ३ वर्षीया छोरीसँग पनि कुरा गरेका थिए ।

दिउँसो भाई र छोरीसँग फोनमा भलाकुसारी गरेका रामबहादुर शनिबार राती एकाएक सम्पर्कविहिन भएको अपत्यारिलो खबर आयो । अस्थायी प्रहरी पोष्ट जुगेडामा कार्यरत रामबहादुर साउँदसँगै नियमित गस्तीमा गएका इन्चार्ज प्रहरी सहायक निरिक्षक गोविन्द बिकको भने आइतबार बिहान नेपाल–भारत सीमास्थित मोहना नदीमा शव भेटिएको थियो ।

प्रहरी सहायक निरिक्षक मृत भेटिएकै स्थानमा सोमबार मिरमिरेमै साउँदको परिवार पनि पुगेको थियो । अप्रत्यासित खबर सुनेपछि अछामको बान्नीगढीजयगढ गाउँपालिका वडा नम्बर ५ निवासी साउँद परिवार आइतबार नै धनगढीका लागि हिडे ।

रातभरीको यात्रापछि सोमबार बिहान धनगढी पुगेका उनीहरु प्रहरी सहायक निरिक्षक बिकको शव भेटिएको नेपाल–भारत सीमा क्षेत्रमा पुगे । साउँदकी पत्नी खिमा पनि ३ वर्षीया छोरीसँगै मोहना क्षेत्रमा पुगेकी थिइन् । उनी त्यहाँ पुग्दा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले नदी र आसपासको क्षेत्रमा साउँदको खोजी कार्य जारी राखेको थियो ।

त्यो दृष्य देखेर उनी एकाएक भक्कानिईन् । आमा छोरी भक्कानिएपछि एकछिन सन्नाट छायो । ‘सँगै रहेका भतिजा धनराज साउद सम्झाउँदै भन्दै थिए, आन्टी चिन्ता नलिनुस् । आशा अझै जिवितै छ । अंकललाई केही भएको छैन् ।’ भतिजाको कुरा सुनेर एकछिन सम्हालिन खोज्थिन् उनी ।

तर फेरि डाँको छोडेर रुन्थिन् । प्रहरी जवानका भाई प्रकाशले दाजुको अवस्था अज्ञात भएपनि आशा जिवितै भएको बताए ।

‘मलाई विश्वास छ दाजुलाई केही पनि भएको छैन् ।’ उनी भन्छन् । ५ जना दाजुभाई मध्ये रामबहादुर साईलो थिए ।

२०६७ सालमा नेपाल प्रहरीको जागिर सुरु गरेका साउद विगत २ वर्षदेखि कैलालीमै कार्यरत थिए । ‘भाई निकै मिलनसार स्वभावको थियो । कसैले एक चोट हानेपछि बरु चोट सहन्थ्यो । हात फर्काउँदैन्थ्यो ।’

रामबहादुरका दाजु गंगा भन्छन्, ‘आशा छ भगवानको कृपाले उनी सुरक्षित छन् ।’ शनिबार रातीदेखि वेपत्ता भएका साउदको अवस्था अझै अज्ञात छ । उनको खोजी कार्य भइरहेको कैलाली प्रहरीले जनाएको छ ।
 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस