सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा सहकर्मी वेपत्ता भएको १० घण्टा सम्म कैलाली प्रहरीले किन खोजी गरेन?

२०७७ कार्तिक ३, ०७:०३ खबर संवाददाता

धनगढीः धनगढीको अस्थायी प्रहरी विटका इन्चार्ज प्रहरी सहायक निरिक्षक गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउँद शनिबार ८ बजे गस्तीमा निस्किए ।

तस्करहरुको अखडा मानिदै आएको जुगेडा क्षेत्रमा नियमित गस्तीमा निस्किएका दुवै जना राती १० बजे सम्म फर्किएनन् । अस्थायी प्रहरी विटमै कार्यरत प्रहरी अधिकारीकै भनाइलाई आधार मान्ने हो भने १० बजे सम्म दुवै जना नफर्किएपछि फोन लगाउँदा सम्पर्क भएन ।

गस्तीमा निस्किएका प्रहरी वेपत्ता हुने बितिकै तत्काल ठुलो संख्यामा प्रहरी परिचालन गरी उनीहरुको राती नै खोजी हुनुपर्ने थियो । तर त्यसो हुन सकेन । प्रदेशको अस्थायी मुकाममै पर्ने जुगेडा जिल्ला प्रहरी कार्यालयबाट करिब ४ किलोमिटरको दुरीमा छ ।

प्रहरीले चाहेको भए राती नै सुरक्षाकर्मी परिचालन गरी वेपत्ता दुवै जनाको खोजी कार्य सुरु गर्न सक्थ्यो तर कैलाली प्रहरी भने बिहान मात्रै जुगेडा पुग्यो ।

इन्चार्ज सहित २ प्रहरी वेपत्ता भएको १० घण्टा सम्म खोजी किन गरिएन ? भन्ने प्रश्नमा कैलालीमा निमित्त प्रमुख प्रहरी नायब उपरिक्षक प्रतिक विष्ट भन्छन्, ‘राती दुवै जना सम्पर्क विहिन भएका रहेछन् । हामीलाई बिहान मात्र खबर आयो । जानकारी पाउँने बितिकै हाम्रो टोली तत्कालै जुगेडा क्षेत्र मुभ भएको थियो ।’  

इन्चार्ज सहित २ जना प्रहरी वेपत्ता भएपछि तत्काल जिल्लालाइ जानकारी नदिएको विषयमा अस्थायी प्रहरी विट जुगेडाका अधिकारीहरुले मुख खोलेका छैनन् । तर बिहान सम्म फर्किनु हुन्छ भन्ने प्रतिक्षामा आफूहरु बसेको त्यहाँ कार्यरत एक प्रहरी बताउँछन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक मुकेशकुमार सिह पनि बिहान मात्र असई सहितका २ प्रहरी वेपत्ता भएको खबर पाएको बताउँछन् ।

‘राती ८ बजे दुवै जना नियमित गस्तीमा गएका रहेछन्। सम्पर्क बिहिन भएपछि बिहान सम्म प्रतिक्षा गरेछन्।’ उनले भने, ‘बिहान सम्म नआएपछि मात्र हामीलाइ खबर भएको हो ।’

घटना भएको थाहा पाएपछि सुदूरपश्चिम प्रदेशका प्रमुख प्रहरी नायब महानिरिक्षक उत्तमराज सुवेदी स्वयंम आइतबार बिहान घटनास्थल पुगेका थिए ।

धारिलो हतियारले घाँटी रेटेर मोहना नदीमा फालिएका प्रहरी सहायक निरिक्षक बिकको शव भेटिएपनि प्रहरी जवना रामसिह साउँदको अवस्था अझै अज्ञात छ ।

उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । 
 

कमेन्ट लोड गर्नुस