दार्चुली ओखर

दार्चुला: दार्चुलामा पाइने ओखरको नयाँ ब्रान्ड निर्माण गरिएको छ। कृषि ज्ञान केन्द्र दार्चुलाले पहिलो पटक दार्चुली ओखरको ब्रान्ड बनाएर बजारमा पठाएको हो।
अहिलेसम्म दार्चुलामा पाइने ओखर बिना ब्राण्ड डडेल्धुराको स्याउँले, डोटी तथा धनगढी क्षेत्रमा विक्री हुँदै आएको थियो। कार्यालय स्थापना भएपछि पहिलोपटक जिल्लाको उत्पादनलाई ब्राण्ड दिएर बजारमा पठाइएको कृषि ज्ञान केन्द्र दार्चुलाका कार्यालय प्रमुख प्रकाश पन्तले बताए।
‘जिल्लामा उत्पादन हुने बस्तुलाई बजारीकरण गर्नु जरुरी ठानेर पहिलो पटक ओखरको नामै दार्चुली ओखर भनेर ब्रान्ड दिएका छौ। अहिले ढिला गरि हामीले ब्रान्ड बजारमा ल्याया’ उनले भने, ‘अब किसानलाई विक्री गर्न सहज होस् भन्नको लागि ब्रान्ड बनाइदिएका छौ। यो निरन्तर चल्छ।’
यसअघि किसानको बारीबाटै लाखौं मूल्यका ओखर डडेल्धुरा स्याउँले क्षेत्रमा गइसकेको छ। यो वर्ष ५० क्वीन्टल बढि ओखर बजारमा पठाउने योजना छ। यहाँको ब्रान्ड बनेको ओखर काठमाण्डौं, धनगढी महेन्द्रनगर जान थालेको छ।
शनिबार मात्रै काठमाण्डौको लागि १० क्वीन्टल ओखर पठाइएको छ। ओखरको धनगढी महेन्द्रनगर बजार क्षेत्रमा माग भई आइरहेको छ। अहिले कृषि ज्ञान केन्द्रले संकलकको लागि प्रस्ताव आह्वान गरेको छ। ओखर पाइने क्षेत्रमा संकलक राखेर ओखर बजारमा ल्याउने व्यवस्था मिलाइएको छ।
अहिले ६ वटा स्थानमा संकलक राखेर ओखर संकलन भइरहेको छ। गाउँमा संकलन भएको ओखरलाई सदरमुकाम सम्म ल्याउने काम संलकहरुले गर्ने गरेका छन्। कार्यालयमा ब्रान्ड लागेपछि मात्रै बजारमा पठाउने व्यवस्था मिलाइएको पन्तले बताए। फलफुल बजारीकरण अन्तर्गत कार्यालयले चालू आर्थिक वर्षबाट ओखरको बजारीकरण गर्न शुरु गरेको हो।
अहिले कार्यालयले नै ओखरको प्याकेजिङ र लेबलिङको काम गरिरहेको कार्यालय प्रमुख पन्तले बताए। दार्चुलाको मालिकार्जुन, लेकम, दुहुँ गाउँपालिका र शैल्यशिखर नगरपालिका र महाकाली नगरपालिका क्षेत्रमा ओखर बढि उत्पादन भइरहेको छ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याउँ जोन कार्यक्रम अन्तर्गत हालसम्म एक सय ३७ हेक्टर क्षेत्रफलमा ओखर उत्पादन हुने गरेको जनाएको छ। सो कार्यक्रम अन्तर्गत गत वर्षमात्रै ११ हजार कसमिरी ओखरका बिरुवा बितरण गरिएको कार्यालय प्रमुख विष्णुप्रसाद ओझाले जानकारी दिए। ‘चालू आर्थिक वर्षमा जिल्लाभरीबाट १६ हजार ओखरका विरुवा माग भइ आएको छ’ ओझाले भने, ‘यो पटक किसानलाई टर्की जातको ओखर दिने तयारी गरिएको छ।’
