सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा अपराधिक समूहले असईको हत्या गरेको प्रहरीको निष्कर्ष

२०७७ कार्तिक २, ०१:०३ खबर संवाददाता

धनगढीः धनगढीको मोहना नदी किनारमा मृत भेटिएका प्रहरी सहायक निरिक्षक गोपिन्द बिकको धारिलो हतियार प्रयोग गरी हत्या भएको प्रहरीले जनाएको छ।

सुदूरपश्चिम प्रदेश प्रहरीले प्रारम्भीक अनुसन्धानका क्रममा बिकको धारिलो हतियार प्रयोग गरी हत्या गरेको निष्कर्ष निकालेको हो।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक मुकेशकुमार सिहले प्रारम्भीक अनुसन्धानका क्रममा असई बिकको हत्या गरी नदीमा शव फालिएको खुलेको दिनेश खबरलाई बताए।

प्रहरी वरिष्ठ उपरिक्षक सिहले बिकको घाँटीको चोट हेर्दा धारिलो हतियार प्रयोग भएको देखिएकाले अपराधिक समूहले हत्या गरी फालेको हुनसक्ने बताए।

उनले बिकसँगै शनिबार साँझ नियमित गस्तीमा खटिएका प्रहरी जवान रामबहादुर साउँदको अवस्था अझै अज्ञात रहेकाले अनुसन्धानपछि मात्र बाँकी कुरा खुल्ने बताए ।

अस्थायी प्रहरी विट जुगेडाका इन्चार्ज समेत रहेका प्रहरी सहायक निरिक्षक (असई) बिक र प्रहरी जवान साउँद नियमित गस्तीमा गएका बेला शनिबार साँझदेखि वेपत्ता भएका थिए ।

बिकको शव मोहना नदी किनारमा भेटिएपनि प्रहरी जवान साउँदको अवस्था अज्ञात रहेको छ ।

बिकले चढ्ने बा ५८ प ५२८४ नम्बरको मोटरसाइकल शव भेटिएको स्थानदेखि साढे २ किलोमिटर पश्चिमतर्फ भेटिएको थियो भने बिकसँग रहेको हतियार फेला नपरेको प्रहरीले जनाएको छ ।    
 

कमेन्ट लोड गर्नुस