कैलाली कारागारका २ जना कैदीमा कोरोना पुष्टि भएपछि ५०० कैदीबन्दी त्रसित

धनगढीः कैलाली कारागारका २ जना कैदीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
सेती प्रादेशिक अस्पताल प्रयोगशालामा शनिबार गरिएको परीक्षणमा २ जना कैदीमा संक्रमण पुष्टि भएको कैलाली कारागारले जनाएको छ ।
जेलेर महेन्द्रसिह खड्काले कर्तव्य ज्यान मुद्दाका ४० वर्षीय पुरुष कैदी र जबरजस्तीकरणी मुद्दाका अन्दाजी ६२ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको दिनेश खबरलाई जानकारी दिए ।
उनका अनुसार ६२ वर्षीय कैदी प्यारालायसिसका विरामी हुन् उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ भने ४० वर्षीय कैदीमा सामान्य लक्षण देखिएपछि परीक्षण गराउँदा संक्रमण पुष्टि भएको हो ।
उनलाई कारागारमै छुट्टै राखिएको छ । उनी कैदी आउट डोर अथवा चौकीदारको रुपमा पनि काम गर्दै आएका थिए । कैलाली कारागारमा २ जना कैदीमा कोरोना संक्रमण देखिएपछि अन्य कैदीबन्दी त्रसित भएका छन् ।
एक सय ५० जनाको क्षमता रहेका कारागारमा अहिले ५ सय १४ जना कैदीबन्दी आश्रीत छन् । कारागारमा तेब्बर बढि कैदीबन्दी हुँदा कोचाकोच गरेर बसिरहेका कारण अन्यमा समेत संक्रमण फैलिएको आशंका गरिएको छ ।
कारागारका जेलर खड्काले २ जनामा संक्रमण पुष्टि भएपछि अन्य कैदीबन्दीको पनि कोरोना परीक्षण गर्ने तयारी भइरहेको जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालयसँग उक्त विषयमा समन्वय भइरहेकाले शंकास्पद कैदीबन्दीको परीक्षण गरिने उनले बताए ।

