सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका २ गम्भीर संक्रमित खतरामुक्त, एक जना डिस्चार्ज

२०७७ कार्तिक २, ०८:५० जनक विष्ट

धनगढीः सुदूरपश्चिमका ३ जना कोरोना संक्रमित खतरामुक्त भएका छन् ।

सेती प्रादेशिक अस्पतालमा स्थापना गरिएको कोभिड अस्थायी अस्पतालको आइसियुमा उपचाररत ३ जना खतरामुक्त भएका हुन् । अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले सघन उपचार कक्ष आइसियुमा उपचाररत धनगढीका २ जनालाई जरनल वार्डमा  सारिएको जानकारी दिए ।

धनगढी उपमहानगरपालिका वडा नम्बर १२ का ५० वर्षीय पुरुष र धनगढी ३ की ६३ वर्षीया महिलालाइ आइसियुबाट जरनल वार्डमा सारिएको श्रेष्ठले बताए । यस्तै आइसियुमै उपचाररत कञ्चनपुरको पुर्नवासका ३८ वर्षीय पुरुष भने डिस्चार्ज भएका छन् ।

ती पुरुष पूर्ण रुपमा खतरामुक्त भएपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा भर्ना भएका ४३ संक्रमित मध्ये ९ जनाको आइसियु र ३ जनालाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

एक जना डिस्चार्ज र २ जनालाई जरनल वार्डमा सारिएपछि भेन्टिलेटरमा ३ र आइसियुमा ६ जना उपचाररत रहेका अस्पतालले जनाएको छ ।

सेतीमा कोरोना संक्रमितका लागि पाँच वटा भेन्टिलेटर सहित १० शैयाको आइसियु सेवा उपलब्ध छ । प्रदेशका अन्य कुनै पनि जिल्लामा तत्काल संक्रमितको उपचारका लागि आइसियु र भेन्टिलेटर सेवा छैन् ।
 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस