सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालले बङ्गलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्ने

२०७७ कार्तिक १, ०९:१६ रासस

नेपालले बङ्गलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ। राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले बङ्गलादेशसँगको मैत्रीपूर्ण खेलका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई अनुमति दिएको छ। मन्त्रालयपछि नेपाली खेलकूदको सर्वोच्च निकाय राखेपले एन्फालाई अनुमति दिइएपछि मैत्रीपूर्ण खेलको टुङ्गो लागेको हो। एन्फाको निरन्तरको आग्रहपछि राखेपले राष्ट्रिय टोलीको प्रशिक्षण अघि बढाउन र मैत्रीपूर्ण खेलका लागि अनुमति दिएको हो।

राखेपको अनुमतिसँगै नेपालले आगामी नोभेम्बरमा बङ्गलादेशसँग उसकै मैदानमा मैत्रीपूर्ण खेल खेल्नेछ। आगामी नोभेम्बर ११ देखि १९ भित्र नेपालले बंगलादेशसँग खेल्नेछ। राष्ट्रिय टोलीका व्यवस्थापक मधुसूदन उपाध्यायका अनुसार नेपालले बङ्गलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ। बङ्गलादेश सरकारको अनुमतिपछि खेलको मिति तय हुनेछ। फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न लागेको एन्फाले जनाएको छ।  
 

कमेन्ट लोड गर्नुस