सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका १२ कोरोना संक्रमितको आईसियु र भेन्टिलेटर राखेर उपचार हुँदै

२०७७ कार्तिक १, ०८:४९ खबर संवाददाता

धनगढीः कोरोना संक्रमण तिव्र रुपमा फैलिरहेको सुदूरपश्चिममा लक्षण सहितका संक्रमितको संख्या पनि बढ्न थालेको छ। प्रदेशमा अवस्था गम्भीर भएपछि १२ जना संक्रमितको सघन उपचार कक्ष आइसियु र भेन्टिलेटरमा राखेर उपचार भईरहेको छ।

सेती प्रादेशिक अस्पतालमा स्थापना गरिएको कोभिड अस्थायी अस्पतालमा भर्ना भएका मध्ये १२ जनाको आइसियु र भेन्टिलेटरमा उपचार भईरहेको हो। अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले ९ जनाको आइसियु र तीन जनाको भेन्टिलेटरमा उपचार भइरहेको जानकारी दिए।

कोरोना संक्रमितका लागि पाँच वटा भेन्टिलेटर सहित ८ शैयाको मात्र सघन उपचार कक्ष आइसियु रहेकोमा सबै शैया संक्रमितले भरिएका छन्। शैया अभाव भएपछि चार जना संक्रमितलाइ भने जनरल वेडमै अक्सिजन दिइरहेको सूचना अधिकारी श्रेष्ठले बताए।

अस्पतालमा कडा खालको लक्षण सहितका संक्रमित बढ्न थालेपछि जनरल वार्डमा समेत अक्सिजन दिने गरी व्यवस्थापन भइरहेहको उनले बताए। जनरल बेडमा अक्सिजन सेटअफ गर्न आवश्यक पर्ने उपकरणको अभाव भएपछि अस्पतालले व्यवस्थापनमा जुटेको जनाएको छ।

सुदूरपश्चिममा सेती प्रादेशिक अस्पतालमा मात्र कोरोना संक्रमितको उपचारका लागि पाँच वटा भेन्टिलेटर सहित ८ शैयाको आईसियु सेवा उपलब्ध छ। तर ती शैया भरिएपछि अब थपिने गम्भीर  संक्रमितको उपचारमा समस्या हुने देखिएको छ।

तीन वटा भेन्टिलेटर सहित ६ शैयाको आइसियु सेवा रहेको कञ्चनपुरको महाकाली अस्पतालले कोरोनाका संक्रमितको उपचारका लागि शैया छुट्याएको छैन्।

महाकाली सहित टीकापुर र डडेल्धुरा अस्पतालमा भेन्टिलेटर सहित आइसियु सेवा विस्तार गर्न बजेट दिएको भएपनि खरिद प्रक्रिया थाल्नमै ढिलाइ भएको छ। 
 

कमेन्ट लोड गर्नुस