सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको मुख्य सडक मर्मतको काममा ढिलाई हुँदा आवातजावतमा सास्ती

२०७७ असोज ३०, ११:५२ खबर संवाददाता

नारायण अवस्थी
धनगढीः सडक बोर्ड र उप–महानगरपालिकाको संयुक्त लगानीमा मर्मत भईरहेको धनगढीको मुख्य सडकको काममा ढिलाई भएको छ।

सडक बोर्ड नेपालको ७० प्रतिशत र धनगढी उप–महानगरपालिकाको ३० प्रतिशत लागतमा कैलाली पुलदेखि मर्मत सम्भार भईरहेको मुख्य सडकको काममा ढिलाई भएको हो।

कुल ९५ लाख ९३ हजारको लागत रहेकोमा सडक बोर्डको ७० प्रतिशले हुन आउने ६७ लाख १५ हजार र उप–महानरपालिकाको ३० प्रतिशत अथात् २८ लाख ७७ हजार बजेट रहेको मुख्य सडक मर्मत योजनाको ठेक्का पाएको मल्ल निर्माण सेवाको लापरवाहीले मर्मतको काममा ढिलाई भएपछि आवातजावतमा सास्ती भएको छ।

धनगढीका स्थानीय रमेश जोशीले सडक मर्मत हुनु राम्रो पक्ष भएपनि निर्माणमा ढिलाई हुँदा समस्या भएको बताए। उनले सडकमा थुपारिएका निर्माण सामाग्रीले आवातजावतमा सास्ती खेप्नुपरेको गुनासो गरे।

गत आर्थिक वर्षको असार मसान्तभित्र निर्माण सम्पन्न गर्ने गरी गत फागुन २१ गते निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएपनि भर्खरै मात्र मर्मतको काम थालिएको छ। तर अहिले पनि ढिलाई गरिएको छ। मर्मत सम्भारपछि सडक क्षेत्रमा परेका खाल्डाखुल्डी पुरिने र आवागमनमा सहज हुने अपेक्षा गरेका नगरबासी निर्माण व्यवसायीले ढिलाई गरेपछि झनै समस्यामा परेका हुन्।

एकातीर कैलाली पुलदेखिको सडक साघुरो र अर्कोतीर निर्माणमा ढिलाई भएपछि कैलाली पुलदेखि जिल्ला प्रहरी कार्यालय सम्म जामको समस्या पनि बढेको छ। सम्झौता अनुसार कैलाली पुलदेखि सेतो पुलसम्मको एक हजार सात सय ७० मिटर सडक मर्मत सम्भार, तथा एक सय २० मिटर नाली निर्माण गर्नुपर्ने भएपनि ढिलाई भईरहेको हो।

धनगढी उप महानगरपालिकाका ईन्जिनियर उपेन्द्र भट्टले निर्धारित समयमै काम नभएपछि चार महिना समयावधी थप गरिएको बताए। कैलाली पुलदेखि सेतो पुलसम्मको सडक मर्मत गर्ने ठेक्का मल्ल निर्माण सेवाले पाएको छ।

लकडाउन र निषेधाज्ञाको कारण देखाएर पहिलो पाँच महिना बिताएपनि पछिल्लो पटक समेत काममा ढिलासुस्ती भईरहेको हो। सडकका निर्माण सामाग्री थुपार्ने तर काम नगर्ने प्रवृत्तिले समस्या भएको छ। निर्माण व्यवसायी चन्द्रशेखर मल्लले भने ट्राफिक प्रहरीले काममा अवरोध सिर्जना गर्ने गरेको आरोप लगाए।

उनले नाली निर्माणको काम करिब सम्पन्न गरिसकेको तर ट्राफिक प्रहरीको अवरोधले काममा बाधा हुँदा ढिदाई भइरहेको दावी गरे। निर्माण व्यवसायीले प्रहरीका कारण सडक मर्मत सम्भारमा ढिलाई भएको दावी गरेपनि प्रहरीले भने निर्माण सामाग्री थुपारेर काम नगर्दा समस्या भएको जनाएको छ।

सडकमा निर्माण सामाग्री थुपारेर लामो समय सम्म काम नगरेपछि ट्राफिक व्यवस्थापन सहज बनाउन छिटोछरितो काम गर्न आग्रह गरिदै आएको दावी प्रहरीको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख ट्राफिक प्रहरी निरीक्षक बिरेन्द्र बहादुर बोहरा मर्मतमा ढिलाई भएपछि सडक अवरुद्ध हुने गरेको बताए।

बुधबार राती  सडक नै अवरुद्ध गरेर काम गर्न थालेछि सहज आवागमन बनाउन आग्रह गरिएको जनाए।धनगढीको मुख्य सडकको मर्मत सम्भारको काम स्वागत योग्य भएपनि निर्माण व्यवसायीको ढिलासुस्तीले थप सास्ती भईरहेको नगरबासीको गुनासो छ।

त्यसैले सडक मर्मत सम्भारको काम छिटोछरितो गर्नसम्बद्ध निकायले निर्माण व्वयसायीलाई ताकेता गर्नुपर्ने सुझाव दिईएको छ। 
 

कमेन्ट लोड गर्नुस