सुदूर नेपाललाई विश्वसँग जोड्दै

कर्मचारीको ऋण मिनाहा

२०७७ असोज २८, १०:५५ रासस

झापा : झापाको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले हेपाटाइटिसका कारण मृत्यु भएका बजार प्रतिनिधि सुकमती राजवंशीले संस्थाबाट लिएको रु छ लाख २९ हजार ऋण मिनाहा गरेको छ।

विगत चार वर्षदेखि सिम्रिकको काँकडभिट्टा सेवा केन्द्रमा कार्यरत बजार प्रतिनिधि राजवंशीको असोज १४ गते उपचारका क्रममा बिएण्डसी हस्पिटलमा मृत्यु भएको थियो। उनको घर मेचीनगर–७ इटाभट्टामा छ। संस्थाका अध्यक्ष कमलबहादुर बस्नेतका अनुसार मृतकको एक मात्र छोरी आरुषी राजवंशीको शिक्षाका लागि संस्थाले रु तीन लाखको अक्षयकोष स्थापना गरिदिने र त्यसबाट आउने वार्षिक रु ३३ हजार ब्याजबाट पढाइ खर्च उपलब्ध गराइने जनाएको छ।

आरुषी १७ वर्षको भएपछि अक्षयकोषको रु तीन लाख फिर्ता दिने र उच्च शिक्षाका लागि उनको नाममा खाता खोली संस्थाले मासिक रु दुई हजार जम्मा गरिदिने अध्यक्ष बस्नेतले बताए। बचतको रकम उनी २३ वर्षको भएपछि एकमुष्ट रु सात लाख २० हजार फिर्ता दिने संस्थाले जनाएको छ। 

सुकमती राजवंशीले बजार प्रतिनिधि भएवापत घर बनाउन सिम्रिकबाट रु १० लाख ४० हजार ऋण लिएका थिए। उनको असामयिक निधनपछि आश्रित परिवारलाई ऋणको बोझ नहोस् भनेर मिनाहा गरिदिएको बस्नेतले बताए। कर्जा लिएको रकममध्ये रु ११ हजार तिरिसकेको अवस्थामा रु १० लाख २९ हजार कर्जा भुक्तानी गर्न बाँकी नै थियो।

जसमध्ये सुकमतीको निधनपछि कर्मचारीले पाउने रु चार लाख संस्थाले ऋणमा मिलान गरेको छ। मृतकको परिवारलाई काजकीरिया खर्चवापत संस्थाले रु ३० हजार प्रदान गरेको छ।

कमेन्ट लोड गर्नुस