बझाङमा आफ्नो जमिनमा माटो फालेको भन्दै हँसिया प्रहार, दुई जना गम्भीर घाइते

प्रताप, ओली बझाङ: बझाङको वित्थडचिर गउँपालिका–६ मा खेत निर्माण क्रममा स्थानीयबीच विवाद हुँदा दुई जना गम्भीर घाइते भएका छन्। घाइते हुनेमा वित्थडचिर गाउँपालिका वडा नम्बर ६ का चन्द्रसिंह स्याँडा र लालु स्याँडा रहेका छन्।
उनीहरु दुवै जनालाई स्थानीय राम नाथले खेत निर्माणका क्रममा आफ्नो जमिनमा माटो फालेको भन्दै हँसिया प्रहार गरी गम्भीर घाइते बनाएका हुन्। उनले प्रहार गरेको हँसियाले लालु स्याँडाको टाउको र हातमा गम्भीर चोट लागेको छ भने, चन्द्रसिंह स्याँडाको गर्धन र पिठ्युमा गम्भीर चोट लागेको छ।
गम्भीर घाइते दुवै जनालाई उपचार हुन सम्भव नभएपछि देउलेख प्राथमिक स्वास्थ्य केन्द्रले धनगढी रेफर गरेको छ।
हँसिया प्रहार गर्ने नाथलाई प्रहरीले भाग्ने क्रममा धरानबाट नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय चैनपुर ल्याइएको छ।
