बैतडीको सुर्नयामा केन्द्रबारे विवाद, गाउँपालिकाको कार्यालयमा तालाबन्दी

धनगढीः बैतडीको सुर्नया गाउँपालिकाले अदालतमा मुद्दा विचाराधिन रहेका बेला केन्द्र सार्ने निर्णय गरेको भन्दै तालाबन्दी गरिएको छ।
गाउँपालिकाको केन्द्र संघर्ष समितिले सर्वोच्च अदालतमा मुद्दा विचाराधिन रहेका बेला कार्यपालिका बैठकबाट निर्णय गरी केन्द्र सार्न खोजेको भन्दै तालाबन्दी गरिएको जनाएको छ।
संघर्ष समितिका सदस्य नरेन्द्र मडैले सर्वोच्च अदालतमा गाउँपालिकाको केन्द्र सार्ने र भवन निर्माण गर्ने निर्णय विरुद्ध अदालतमा मुद्दा विचाराधिन रहेपनि त्यसलाई प्रभावित हुनेगरी केन्द्र सार्न खोजेपछि सोमबार गाउँपालिकाको कार्यालयमा अनिश्चितकालका लागि तालाबन्दी गरिएको जानकारी दिए।
उनले गाउँ कार्यपालिका बैठकले केन्द्र सार्ने निर्णय गरी नगरसभाबाट पारित गर्ने तयारी गरेपछि तालाबन्दी गरिएको बताए।
अहिले वडा नम्बर ५ को कठेगौडमा रहेको सुर्नया गाउँपालिकाको केन्द्रलाई नै स्थायी बनाउनुपर्ने स्थानीबासीको माग छ भने गाउँ कार्यपालिकाले वडा नम्बर ५ कै पवितामा केन्द्र सार्ने निर्णय गरेको छ।
यसअघि कठेगौडमै केन्द्र कायम गर्नेगरी गाउँपालिकाले जग्गा खरिदका लागि सूचना समेत आह्वान गरेपनि पछि आफूखुसी केन्द्र सार्न खोजेको सदस्य मडैले बताए।
अहिले पवितामा रहेको चन्द्रमणी प्राथमिक विद्यालयको जग्गामा गाउँपालिकाको भवन निर्माण गरी सोही ठाउँमा केन्द्र सार्ने तयारी गाउँपालिकाले गरेको उनले बताए।
उक्त विद्यालयलाई समेत अन्यत्र सार्ने तयारी छ। यसअघि कठेगौडमै केन्द्र कायम गर्नुपर्ने माग सहित सर्वोच्च अदालतमा रिट दायर भएको थियो।
उक्त रिटमा सर्वोच्च अदालतले अन्तिम फैसला गर्न बाँकी छ। यता केन्द्र विवादबारे गाउँपालिकाका अध्यक्ष बिरबहादुर विष्टसँग बुझ्न खोज्दा उनी सम्पर्कमा आएनन्।
उनको प्रतिक्रिया लिन टेलिफोन गरिएपनि नउठेको हो।
