दार्चुलामा भीरबाट लडेर घाइते भएकी झुम्तीदेवीले स्टेचर समेत पाइनन्

दार्चुला: दार्चुलाको शैल्यशिखर नगरपालिका–४ मल्लो काडापारीकी ६४ वर्षीया झुम्तीदेवी धामी आइतबार बिहान १० बजेतिर खर काट्ने क्रममा लडेर गम्भिर घाइते भइन। लडेको झण्डै दुई घण्टापछि घर परिवारलाई जानकारी भयो।
गवाड खोलामा खर काट्न गएको बेला उनी लडेर घाइते भएकी थिइन। उनलाई गाउँकै रानीशिखर स्वास्थ्य चौकीसम्म पुर्याउन चार घण्टा भन्दा बढी समय लाग्यो। स्वास्थ्य चौकीसम्म पुर्याउन धामी परिवारले स्टेचरसमेत पाउन नसकेको पीडित परिवारले गुनासो गरेका छन्। पीडितका श्रीमान तारासिह धामीले घट्नास्थलबाट स्वास्थ्य चौकीसम्म पुर्याउन स्टेचर नपाएको बताए।
‘गाउँभरी स्टेचर खोजे पाएन्’ उनले भने ‘स्वास्थ्य चौकीमै स्टेचर नपाएपछि परम्परागत गाउँको खाटमा राखेर घाइतेलाई स्वास्थ्य चौकीमा पुर्याइएको हो। बिच बाटोसम्म पिठ्युमा बोकेर ल्यायौं। पछि खाट पाएपछि खाटमा हालेर स्वास्थ्य चौकीसम्म लग्यौ।’
लडेर गम्भिर घाइते भएकी धामीको गर्धन, शरीर र खुट्टामा चोट लागेको छ। स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि आइतबार बेलुकी उनलाई गोकुलेश्वर अस्पताल रेफर गरिएको स्वास्थ्य चौकीका सिनियर अहेव कृष्णानन्द पन्तले बताए।
स्वास्थ्य चौकीमा स्टेचर नभएकाले बिरामीका परिवारले खटियामा उनलाई ल्याएको सनियर अहेव पन्तले बताए। ‘यसअघि बिरामीले लगेर कताकता छोडेछन्। गाउँमै स्टेचर पाउन मुस्किल भएपछि आधा एक घण्टाको बाटोमा खटियामा राखेर बिरामी ल्याएका थिए’ उनले भने।
हरेक टोलमा स्टेचर हुनुपर्ने बेला गाउँकै स्वास्थ्य चौकीमा स्टेचर पाउन नसकेको पीडितका श्रीमान धामी बताउँछन्। ‘उनलाई पुरानो स्टेचरमा खोजेर गोकुलेश्वर अस्पताल लगिएको छ’ उनले भने ‘त्यो पनि कसको मागेर ल्याए थाहा भएन्। रानीशिखरसम्म सडक पुगेको छैन्। भिरालो बाटोमा पुरानो स्टेचरमा राखेर उपचारको लागि लगिएको उनले सुनाए।
बेलुकी साढे ५ बजेपछि मात्रै सडकसम्म बिरामीलाई पुर्याउन सकिएको धामीले बताए। सडकसम्म एम्बुलेन्स मगाएर बिरामीलाई अस्पताल लगिएको उनले बताए।
