अब धनगढीदेखि पाटनमा नियमित हवाई उडान हुने, कति छ भाडा ?

धनगढी: अब धनगढीदेखि बैतडीको पाटन विमानस्थलमा नियमित हवाई उडान हुने भएको छ। धनगढीलाई बेस बनाएर यही असोज २९ गतेदेखि नियमित उडान हुने बैतडीबाट निर्वाचित संघीय सांसद दामोदर भण्डारीका स्वकिय सचिव लोकेन्द्र भण्डारीले जानकारी दिए।
हप्ताको १ दिन बिहिवार समिट एयरले उडान भर्ने उनले बताए। धनगढीबाट बिहान साढे ११ बजे पाटनका लागि उडान भर्ने बताइएको छ।
१७ मिनेटमा धनगढीबाट बैतडी पुग्न सकिने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। धनगढी–पाटनको भाडादर भने ३ हजार ८०२ रुपैंया तोकिएको छ। नियमित हवाई उडान हुने भएपनि पाटन विमानस्थलमा टर्मिनल भवन तथा टावर नहुँदा समस्या हुने देखिएको छ।
तत्कालका लागि पाटन नगरपालिकासंग समन्वय गरेर यात्रु प्रतिक्षालय स्थापना गरेर एकजना कर्मचारी राख्ने तयारी भएको स्वकीय सचिव भण्डारीले बताए।
यही असोज १७ गते पाटन विमानस्थलमा परीक्षण उडान गरिएको थियो।

