सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका टोलटोलमा शिक्षक पठाएर पठनपाठन सुरु

२०७७ असोज २३, ११:३६ कमल सावद

धनगढी: विद्यालय सञ्चालनको विषयमा छलफलमा रहेका कैलालीका स्थानीय तहहरुले विद्यालयमा पठनपाठन सुरुचारु गराउन सम्भव नभएको भन्दै टोलटोलमा अध्यापन गराउन सुरु गरेका हुन्। 

जिल्लाको धनगढी उप–महानगरपालिकासँगै कैलारी र घोडाघोडी नगरपालिका क्षेत्रमा टोलटोलमा गएर पढाउन थालिएको छ। एक ठाउँमा बढिमा सात जना विद्यार्थीलाई जम्मा गराई भौतिक दुरी कायम गरेर पढाउन थालिएको स्थानीय तहहरुले बताएका छन्।

जिल्लाको घोडाघोडी नगरपालिकाका सूचना अधिकारी उमेश रेग्मीले नगरपालिका क्षेत्रका विद्यार्थीलाई टोलटोलमा शिक्षक पठाएर अध्यापन गराउन थालिएको बताए। ‘विद्यालय सञ्चालन गरिएको छैन। बरु विद्यार्थी भएको ठाउँमा शिक्षकहरु गएर ५/७ जना विद्यार्थीलाई जम्मा गर्दै अध्यापन गराउँदै हुनुहुन्छ’ उनले भने। 

सिकाई केन्द्रमार्फत पढाउन थालेका जिल्लाका स्थानीय तहहरुले विद्यालयको समेत प्रयोग गरेका छन्। विद्यार्थीको पायकपर्ने स्थानमा विद्यार्थीलाई जम्मा गर्दै शिक्षकहरुले पढाउन थालेको कैलारी गाउँपालिकाको शिक्षा शाखा प्रमुख गणेश प्रशाद मिश्रले बताए। ‘कोरोना संक्रमणको त्रास छ। विद्यालय पूर्ण सञ्चालन गर्ने अवस्था छैन्। तर टोलटोलमा सिकाई केन्द्रमार्फत पढाई हुदैछ। विद्यालयहरुलाई सिकाई केन्द्रमार्फत अध्यापन गराउनु भनेका छौ’ उनले भने। 

शिक्षा तथा प्रविधि मन्त्रालयको भदौ १९ मा मन्त्रीस्तरिय बैठकबाट पारित निर्णय अनुरुप विद्यार्थी सिकाई सहजीकरण निर्देशिका अनुसार नै जिल्लाका स्थानीय तहहरुले विद्यालय सञ्चालनको गर्न थालेका हुन्। इन्टरनेट, रेडियो, टेलभिजन तथा  कक्षा सञ्चालन गर्न नसकिने भएमा सिकाई केन्द्रमार्फत पढाउन थालिएको धनगढी उप–महानगरपालिकाका शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख विष्णुप्रसाद कोइरालाले बताए। उनले भने, ‘उप–महानगरपालिकाले कुनै निर्णय भने गरेको छैन् तर नेपाल सरकारको निर्देशिका अनुसार गर्न भनेका छौ। सोही हनुसार विद्यालयहरुले निर्देशिकामा रहेन पठनपाठन गराउँदैछन्।’

 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस