सुदूरपश्चिममा नयाँ शहर योजना : दुई किलोमिटर सडक कालोपत्रे गर्न १० वर्ष
धनगढीः हिमाल तथा पहाडमा बसोबास गर्दै आएकाहरुले शहर वा तराई पस्न नपरोस भन्ने उद्देश्यले नेपाल सरकारले आर्थिक वर्ष २०६७÷०६८ को नीति तथा कार्यक्रममा मध्य पहाडी लोकमार्ग क्षेत्रमा पर्ने १० शहरलाई नयाँ शहरमा विकास गर्ने घोषणा गरेको थियो।
सुदूरपश्चिममा बैतडीको पाटन र अछामको साफेबरमा नयाँ शहर विकासको कार्यक्रम लागु गरिएको थियो। कार्यक्रम लागु भएको १० वर्ष भएको छ। पाटनमा दुई किलोमिटर सडक कलोपत्रे गरिएको छ भने अछामको साँफेमा सडकको नाली निर्माणमै १० वर्ष लागेको छ। नयाँ शहर योजना कार्यालय पाटनका प्रमुख अजय आर्चायले दुई किलोमिटर सडक कालोपत्रे गरिएको बताए।
आयोजना लागु भएको सुरुका वर्षमा अन्यौलता थियो। उनले भने, ‘विस्तारै पाटन क्षेत्रका सडकका नाली निर्माण गरिएको छ। डिपिआर निर्माणमा तीन वर्ष बित्यो। कार्यालय पनि थिएन्। ट्रयाक खोल्ने र नाली निर्माण गर्ने गरिएको थियो। २०७१/०७२ बाट मात्र राम्रोसँग काम सुरु भएको हो, २०७४÷०७५ मा मात्र ठेक्का भएको छ।
२०७५/०७६ मा काम भएन्।’ उनले भने, ‘अहिले बजार क्षेत्रको दुई किलोमिटर सडक कालोपत्रे गरिएको छ। खोड्पे लगायतका क्षेत्रमा सडकको ट्रयाक निर्माण समेत गरीएको छ। तर त्यसको पूर्ण तथ्याँक छैन्।’पाटनमा सडक कालोपत्रे, बजार क्षेत्रमा ट्रयाक निर्माण, नाली निर्माण, बसपार्क, खुलामञ्च, खोड्पेमा पार्क, तरकारी फलफुल केन्द्र र ग्रामिण क्षेत्रमा ट्रयाक निर्माण लगायतका काम भएको उनले जानकारी दिए।
अहिले सम्म ७ किलोमिटर ट्रयाक खोलिएको दावी गरिएको छ। तरकारी–फलफूल केन्द्र निर्माणको अन्तिम चरणमा रहेको उनले बताए। कार्यक्रम लागु भएको १० वर्ष पुगेपनि न्युन बजेट विनियोजन हुने गरेकाले समेत भौतिक प्रगती कम देखिएको दावी गरिएको छ। अछामको साँफेमा पनि भौतिक प्रगति न्यून छ।
नयाँ शहर योजना कार्यालय साँफेका प्रमुख मोहन बिकले भवन निर्माण, सडक, सार्वजनिक भवनको निर्माणको काम जारी रहेको बताए।
‘एकिकृत सरकारी भवनको निर्माण सकिएको छ। कोल्ड स्टोरको काम जारी छ। १० वटा सडक योजनाको ठेक्का भएको छ। अहिले ४ सडकको काम हुँदैछ। ट्रयाक निर्माण, नाली र बेस–सव बेसको काम जारी रहेको हो। केहि सडकको काम समेत सकिएको छ।’ उनले भने।
लोकमार्ग आसपासको बस्ती समेटेर २०९० सालसम्म पाटन र साँफेबगरमा सुविधा सम्पन्न शहर निर्माणको लक्ष्य छ। आर्थिक विकासको सम्भाव्यता, जमिनको उपलब्धता, जनसङ्ख्या तथा यातायातको सुगमताको आधारमा सरकारले २० वर्षीय गुरुयोजना तयार गरी पाटन र साँफेबगरमा नयाँ शहर विकास गर्ने लक्ष्य राखेको छ।
नयाँ शहर योजना कार्यालय पाटनका प्रमुख अजय आर्चायले नयाँ टेण्डरको तयारीमा समेत रहेको बताए। ‘फोहोरमैला व्यवस्थापनका लागि विभागसँग समन्वय हुँदैछ। यो वर्ष ६ करोड रकम छ। पहिलेका ठेक्काको म्याद थपको समेत कुरा हुँदैछ।’ उनले भने।
चालु वर्षमा साँफेले १२ करोड र पाटनले ६ करोड बजेट पाएको छ। गत वर्षको तुलनामा बजेट समेत न्यून विनियोजन गरिएको हो। सडक, खानेपानी, खेल मैदान, बसपार्क, मनोरञ्जन पार्क, आधुनिक बस्ती, विद्यालय, कलेज, अस्पताल, तरकारी बजार, औद्योगिक क्षेत्र लगायत पूर्वाधारको विकास गरिने योजना छ।