अस्पताल बनाउन स्थानीय तहलाई बजेट निकासा
काठमाडौँ: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताल बनाउनका लागि स्थानीय तहलाई बजेट पठाएको छ। अर्थ मन्त्रालयबाट पहिलो चरणमा २६४ स्थानीय तहलाई पाँचदेखि १५ शैय्याको अस्पताल बनाउनका लागि बजेट पठाइसकेको हो।
ती स्थानीय तहका स्वास्थ संस्थालाई स्तरोन्नति गरी अस्पताल बनाउनका लागि बजेट पठाइएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए। पाँच शैय्याको अस्पतालका लागि ७० लाख, १० शैय्याको लागि ८५ लाख र १५ शैय्याको लागि एक करोड पठाइसकेको छ।
मन्त्रालयले पाँच शैय्याका लागि ५२ स्थानीय तह, १० शैय्याका लागि १०५ स्थानीय तह र १५ शैय्याका लागि १०७ स्थानीय तहलाई अस्पताल बनाउनका लागि रकम पठाएको हो। यसरी दुई हजार ९१५ शैय्याका अस्पताल बन्ने छन्। मन्त्रालयले प्रचलित कानून, स्वीकृत मापदण्ड, निर्देशिका र भवन आचारसंहिताअनुसार यही कात्र्तिक मसान्तसम्म निर्माण कार्य प्रारम्भ गर्न समेत निर्देशक दिएको मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले जानकारी दिए।
यस्तै मन्त्रालयले अस्पताल नभएका ६४९ स्थानीय तहलाई पाँच शैय्याका दरले अस्पताल बनाउन बजेट पठाइसकेको छ। कोरोना भाइरस (कोभिड—१९)को रोकथाम र नियन्त्रणका लागि मन्त्रालयले अस्पताल नभएका स्थानीय तहलाई पाँच शैय्याको अस्पताल बनाउन निर्देशन दिएको थियो।
पाँच शैय्याका दरले ती स्थानीय तहमा तीन हजार २४५ शैय्याका अस्पताल बन्नेछन्। अस्पताल निर्माणका लागि प्रतिशैय्या दुई लाखका दरले बजेट विनियोजन गरी पठाइसकेको छ। ती अस्पतालमा एक जना चिकित्सक, दुई नर्स र एक कार्यालय सहयोगी हुनेछन्।