सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीका वडा कार्यालयमा सचिव नहुँदा कामकाज प्रभावित

२०७७ असोज १७, ०७:०१ रासस

विनोद सिंह विष्ट, बैतडी: वडासचिव नहुँदा बैतडीका वडा कार्यालयको कामकाजमा समस्या आउने गरेको छ। जिल्लाका ८४ मध्ये  ३० वडामा सचिव अभाव रहेको छ। 

वडामा दरबन्दीअनुसारका सचिव नहुँदा कामकाज प्रभावित हुनुका साथै सेवा प्रवाहमा समस्या भएको स्थानीय तहहरुले जनाएका छन्।  सचिव नभएका वडाहरुमा प्राविधिक सहायक खटाएर सचिवको काम भइरहेको सुर्नया गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत धनबहादुर चन्दले बताए। पाटन नगरपालिकाका १० वटै वडामा दरबन्दीअनुसारका सचिव नभएका कारण प्राविधिक सहायकहरुले नै सचिवको काम गरिरहेका छन्।

पुर्चौंडी नगरपालिकाका १० मध्ये नौ वडामा सचिव छैनन् । ती वडामा प्राविधिक सहायकले नै सचिवको काम गरिरहेको नगरपालिकाका प्रवक्ता दलबहादुर धामीले जानकारी दिए। उनले भने “वडामा सचिव नहुँदा सेवा प्रवाहमा समस्या भएको छ।” 

यस्तै डिलाशैनी गाउँपालिकामा ७ नम्बर वडामा मात्रै सचिव नभएका र अरु वडामा सचिवको दरबन्दी पदपूर्ति भएको गाउँपालिकाले जनाएको छ। यस्तै दोगडाकेदार गाउँपालिकाको पनि ७ नम्बरमा मात्रै सचिव छैनन् भने अरु सबै वडामा सचिव रहेका कार्यालय सहायक अम्बादत्त जोशीले जानकारी दिए। सिगास गाउँपालिकाको वडा नं, ४, ७ र ९ गरी तीन वडामा प्राविधिक सहायकले सचिवको काम गरिरहेका छन्।

सदरमुकामस्थित दशरथचन्द नगरपालिकाको ७ नं वडामा पनि सचिव नरहेको नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख विनोदबहादुर चन्दले जानकारी दिए। यस्तै पञ्चेश्वर गाउँपालिकाका छमध्ये वडा नं २, ४ र ५ मा सचिव नरहेका गाउँपालिका उपाध्यक्ष बीना भट्टले जानकारी दिए। शिवनाथ गाउँपालिकाको वडा नं ४ बाहेक सबैमा सचिव रहेका गाउँपालिकाले जनाएको छ। मेलौली नगरपालिकाका नौमध्ये तीन वडामा सचिव छैनन्। वडा नं १, ५ र ९ मा प्राविधिक सहायकले काम गरिरहेका नगरपालिकाले जनाएको छ। 

वडाहरुमा सचिव नहुँदा दैनिक कामकाज निकै प्रभावित भइरहेको जनाएको छ।  स्थानीय बासिन्दाले समयमै सेवा नपाएको समेत गुुनासो गर्ने गरेका छन्। बैतडीमा चार नगरपालिका र छ गाउँपालिका गरी ८४ वडा छन्।

कमेन्ट लोड गर्नुस