सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलाका १९ वडा सचिवविहीन

२०७७ असोज १७, ०३:१९ नरेन्द्र कार्की

दार्चुला: दार्चुलाका ९ स्थानीय तहका ६१ मध्ये ६ स्थानीय तहका १९ वडामा सचिव छैनन्। जनप्रतिनिधि आएको तीन वर्षसम्म पनि कर्मचारी पठाउन नसक्दा वडाका कामकाज प्रभावित भएका छन्। वडामा सचिव नभएपछि अहिले साविकका गाविस प्राविधिकहरूलाई सचिवकाे जिम्मेवारी दिएर काम भइरहेको छ।

दरबन्दीका सचिव नहुँदा कुनै सचिवले २ वडा र प्राविधिकहरूले  पनि दोहोरो जिम्मेवारीमा काम गर्नु परेको छ। सदरमुकाम खलंगासँग जोडिएको महाकाली नगरपालिकाको वडा–१ र वडा– ७ मा वडासचिव छैनन्।

शैल्यशखिर नगरपालिकाको ७ वडा सचिवविहीन छ। नगरपालिकाको वडा–१, २ ,४, ५, ६, ८, र ९ वडामा सचिवको दरबन्दी रिक्त रहेको शैल्यशिखर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्टले जानकारी दिए। हाल नगरपालिकाको वडा–३ र ७ मा मात्रै वडा सचिव रहेको उनले बताए। 

यस्तै, जिल्लाको लेकम गाउँपालिकाको वडा–१ सचिवविहीन छ। गाउँपालिका अध्यक्ष प्रमानन्द जोशीका अनुसार वडा–२ मा वडासचिव छैनन्। नौगाड गाउँपालिकाको वडा–४ सचिवविहीन छ । वडासचिव नहुँदा अहिले कामकाजमा समस्या भएको गाउँपालिका अध्यक्ष प्रेमसिंह धामीले बताए।

अपिहिमाल गाउँपालिकाका २ वडा सचिवविहीन छन्। गाउँपालिकाको वडा–१ र वडा–५ सचिवविहीन रहेको गाउँपालिका अध्यक्ष धर्मानन्द मन्यालले जानकारी दिए।

मालिकार्जुन गाउँपालिकाका ५  वडा सचिवविहीन छन्। गाउँपालिकाको वडा–१, २, ४, ५, ६ मा सचिव नभएको गाउँपालिका अध्यक्ष नरेन्द्रसिह धामीले बताए। सचिव नभएका वडाहरूमा अहिले प्राविधिकहरूले काम गरिरहेका छन्। दार्चुलाको मार्मा, दुहुँ र व्यास गाउँपालिकामा सचिवको दरबन्दी पूर्ति भएको  छ।

वडासचिव नहुँदा स्थानीय तहको केन्द्रसम्म पुग्न बाध्य छन्। स्थानीय तहमा दरबन्दीअनुसार कर्मचारी नभएका कारण कार्य सम्पादनमा समस्या हुने गरेको जनप्रतिनिधिहरू बताउँछन्।

नरेन्द्र कार्की दिनेश खवरका दार्चुला संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस