धनगढीमा सुपथ मूल्य पसल सञ्चालन
धनगढी– सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा आजदेखि सुपथ मूल्य पसल सञ्चालनमा हुने भएको छ। दशैँ, तिहार लगायतका चाडपर्वलाइइ लक्षित गरी साल्ट ट्रेडिङ कर्पोरेसन क्षेत्रीय कार्यालय धनगढीले आजदेखि सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको हो।
‘आजदेखि धनगढीमासुपथ मूल्य पसल सञ्चालनमा ल्याउने तयारी छ,’ साल्ट ट्रेडिङ कर्पोरेसन क्षेत्रीय कार्यालय धनगढीका सहायक महाप्रबन्धक केशवप्रसाद पाण्डेयले भने, ‘प्रदेशभरी अन्य कुनै स्थानमा पालिकाहरुले सुपथ मूल्य पसल सञ्चालन गर्न इच्छा राखे साल्ट ट्रेडिङले सहयोग गर्छ।’
उनले सुपथ मूल्य पसलबाट चिनी, नुन र चामल बिक्री हुने बताए। चिनी प्रति किलो ७० र नुन प्रति किलो १८ रुपैँया निर्धारण गरेको पाण्डेयले बताए। नुन र चिनी प्रति व्यक्ति चार किलो खरिद गर्न पाईनेछ।
चाडपर्वमा जनतालाई राहत उपलब्ध गराउन सुपथ मूल्य पसल सञ्चालन गर्दै आईएको छ। विगतमा कैलालीको धनगढी र टीकापुर, कञ्चनपुरको भीमदत्तनगर, डोटीको दिपायल, डडेलधुरा र बैतडीको पाटनमा सुपथ मूल्य पसल सञ्चालन हुँदै आएको थियो।