सुदूर नेपाललाई विश्वसँग जोड्दै

गुण्डा नाइकेको जस्तै एफएमको जग भत्काउने हिम्मत कहाँबाट आयो मेयर साप ?

२०७७ असोज १२, ०६:०८

दिनेश खबर टीम
धनगढी– 
घटना १
धनगढी उप–महानगरपालिकाका मेयर नृपबहादुर वडले दिनेश सञ्चार गृहलाई विकास विरोधीको संज्ञा दिने गरेको नौलो कुरा होईन्। गत वर्षको भदौँमा दिनेश एफएमबाट प्रशारण भएको नागरिक सवाल कार्यक्रमबाट सार्वजनिक रुपमै उनले विकास विरोधीको संज्ञा दिए। शहरी विकास तथा भवन निर्माण विभाग, संघिय आयोजना कार्यान्वयन ईकाइ धनगढीले निर्माण गरी हस्तान्तरण गरेको कनरी पार्कको विषयमा अन्तरवार्ता लिदा उनले एफएमलाई विकास विरोधी भनेका थिए। 

प्रस्तोता नारायण अवस्थीले कनरी पार्कका विषयमा नमूना सामुदायिक वनकी अध्यक्ष लक्ष्मी कैला र स्थानीय केशवराज जोशीसँग स्टुडियोमै संवाद गरे भने शहरी विकास तथा भवन निर्माण विभाग संघिय आयोजना कार्यान्वयन ईकाइका इन्जिनीयर झंक थापा र मेयर वडसँग टेलिफोन संवाद गरेका थिए। दुई करोड ७४ लाखमा निर्मित पार्कको स्वामित्व हस्तान्तरण नहुँदै उप–महानगरपालिकाले मिलोमतोमा ठेक्का दिन खोजेको भन्दै स्थानीयले विरोध गरेका थिए। 

स्थानीयलाई वाईपास गरेर उप–महानगरपालिकाले ठेक्का दिन खोजेको विषयमा सम्बद्ध पक्षसँग ती कुरा राख्ने ध्येयले नै त्यो कार्यक्रममा मेयर पनि अतिथि थिए। तर उनले स्थानीयले उठाएको सवालको जवाफ दिनुभन्दा दिनेश एफएम विकास विरोधी र हरेक काममा अवरोध गर्दै आएको सार्वजनिक अभिव्यक्ति दिए। त्यती मात्र भनेनन् की दिनेश एफएमले धनगढी उप–महानगरपालिकासँग जोडिएका कुनै पनि विषयमा सरोकार, चासो नराख्दा ठीक हुन्छ भन्ने सम्मका घुर्की दिए।

त्यो कार्यक्रममा मेयरले के भनेका थिए?   

मेयर साप, कनरी पार्कको स्वामित्व ग्रहण नगर्दै तपाईहरुले ठेक्कामा दिने भन्ने कुरामा स्थानीयको विरोध रहेछ। स्थानीयसँग छलफल गर्न आउँछौँ भनेर पनि तपाई जानु भएनछ किन समस्या भयो ? 

होईन, त्यो उहाँहरुले नबुझेका कुराले मात्र हो। मैले आउने कोसिस गरेको तर हिजो परिस्थितीबस थाहा पाएन। ५÷७ दिन बाहिर थिए। विपी जयन्ती मनाउने कार्यक्रम ७ बजे र उहाँहरुको कार्यक्रम पनि ७ बजे नै परेकाले जान सकेन। नभए आएकै दिन साँझ त्यहाँ जाने भन्ने कुरा हो। कनरी पार्क र जडिबुटी प्रशोधन केन्द्र हस्तान्तरण भए सरह भएको र प्रक्रिया पूरा गर्न तीन÷चार महिना लाग्ने हुनाले प्रक्रियामा अगाडी बढौँ भन्ने कुरा हो। उहाँहरुले प्राविधिक कुरा नबुझेर समस्या हो। उहाँहरुका बीचमा म मज्जाले बस्छु, छलफल गर्छु। 

उहाँहरुसँग भएका धनगढी उपमहानगरपालिकाका सहमती, सम्झौताहरु, क्लीयर गरेर पीपीई मोडलको पार्टनर आवश्यक पर्छ। लगानीकर्ता आवश्यक पर्छ। त्यसमा केही समस्या छैन्। उहाँहरुका बीचमा म बस्ने प्रयास गर्दैछु। ढुक्क बसे हुन्छ। जुन कम्पनीले आशय पत्र हाल्छ उहाँहरुका बीचमा राखेरै सम्झौता गर्ने हो।

त्यो क्षेत्रको विकास कसरी हुन्छ भन्ने कुरामा जानुपर्यो। म नगरपालिका भन्दा बाहिरको मान्छे होईन् त्यही समाज, त्यही टोलको मान्छे हुँ। तर के भने जुन यो एफएमले गर्न खोज्दैछ, यो मात्रै समस्याको विषय हो। मैले आफूले के सोचिराखेको छुँ भने, धनगढी उपमहानगरपालिका भित्रमा दिनेश एफएम भनेको विकास विरोधी एफएम हो। तपाईको समस्या के हो भनेर यसको फाउन्डरसँग, मालिकसँग बस्ने तयारी गर्दैछु। म बस्छु। 

तपाईले समय दिएर पनि त्यो स्थानमा जानुभएन भन्ने उहाँहरुले हामीलाई गुनासो गरेपछि सहजीकरण गर्दै स्टु्डियोमै बोलाएर संवाद गर्ने वातारण मिलाएपछि दिनेश एफएमलाई विकास विरोधी भन्न मिल्छ ?

(आक्रोशित हुँदै...) त्यो नागरिकसँग, त्यो जनतासँग उहाँहरुले बनाएको मान्छु हुँ म। सहजीकरण गरिहाल्छु नी तपाईले गर्नुपर्दैन्। उहाँहरुले मलाई भोट दिएर जिताउनुभएको हो। म उहाँको मान्छे, कार्यकर्ता, नेता, उहाँहरुको नगर प्रमुख सबै कुरा हो नी। उहाँहरुसँग म बस्छु। 

भनेपछि तपाई दिनेश एफएम बन्द होस् भन्ने चाहानुहुन्छ ? कानून प्रक्रियामा जानुहुन्छ? 

सहजीकरण गर्नुपर्दैन् तपाईहरुले। म उहाँहरुसँग बसेर सञ्चालन गर्नुहुन्छ भनेर उहाँहरकै जिम्मा लगाउँछु। के छ र। 

मेयर साप तपाईसँग सोझै आएर भन्न सक्ने नहुनु पनि सक्छ ! आम सञ्चारमा आयो, हामीले लेख्यौ, बोल्यौँ भने जतीबेला पनि पढ्न, सुन्न सक्नुहुन्छ नी ?

मसँग पनि कुरा आईसक्या छ नी। तपाईले बोल्न सहजीकरण गर्न आवश्यक पर्दैन्। मेरो जनता, मेरो नागरिक हो। म उहाँहरुको मान्छे  हुँ, उहाँहरुले नै बनाएका हुन्। 

मेयर साप जिम्मेवार व्यक्तिले आम सञ्चार माध्यममा बोल्ने शैली यही हो र ? 

तपाईको प्रक्रिया गलत भएको हो नी। हरेक प्रक्रियामा डिस्टर्ब गर्ने १ काम गर्ने बेला डिस्टर्ब गर्ने !

तपाईहरुले काम गर्दा हामी सञ्चारकर्मीले प्रश्न गर्न नहुने ? नागरिकका प्रश्न तपाईलाई सोध्नु नहुने? प्रश्न गर्दैमा विकास विरोधी भन्न मिल्छ र? 

हरेक काममा डिस्टर्ब गरेर बसिराख्ने। काम गर्न नदिने। 

त्यसो भए तपाईको कार्य क्षमता विकास विरोधी होईन र ?

अहिले सम्म पनि रुपहरु हेर्न नसक्ने। विकास गर्न नदिने।  

भनेपछि दिनेश एफएमले विकासलाई अवरुद्ध गरेको यहाँको ठम्याई हो ? 

हो, पूरै विकास विरोधी काम गरिराखेको अवस्था छ। 

तपाईको जयजयकार गरिदिनुपर्यो त्यसो भए एफएमबाट ?

पर्दैन्, पर्दैन् तपाईले केही गर्नु पर्दैन्। जय जय गर्ने जनताहरु छ म सँग। 

उसो भए तपाईमा आक्रोश किन त ? 

हैन काम गर्न लागेको विषयमा के हो ? तपाईहरु बस्नुस् भन्न सक्नुहुदैन्। मिडियामै ल्याउनुपर्छ हरेक विषय। ...(त्यसपछि बीचमै फोन काटेर संवाद टुङ्गिन्छ)
हेर्नुस मेयरसँगको त्यो अन्तरवार्ता 

मेयर वडले दिनेश एफएमबाट प्रशारण भएको नागरिक सवालमा दिएको अभिव्यक्तिपछि उनी आलोचित बन्न पुगे। आम सञ्चार माध्यमलाई विकास विरोधीको ट्याग लगाएर जिम्मेवारीबाट पन्छीन नमिल्ने भन्दै धेरै सामाजिक सञ्जालमा स्टाटस नै लेखे। उनका समर्थकले समेत त्यती बेला मिश्रित प्रतिक्रिया दिएका थिए। सोही विषयमा मिडियामा बोल्दा कसरी बोल्न पर्छ भन्ने विषयमा मेयर वडलाई ज्ञान नभएको भन्दै दिनेश एफएमका सम्पादक नवराज पनेरुले फेसबुकमा स्टाटस लेखे। 

पनेरुको उक्त स्टाटसमा मेयरले कमेन्ट गर्दैै भनेका छन्, ‘तिमी राम्रो अध्ययन भएको रहेछौँ। राम्रो गरीरहेको छौँ गर।’ पनेरुले उनको कमेन्टमा रिप्लाई फर्काउँदै लेखे,  ‘धन्यवाद। तपाई पनि राम्रो काम गर्दै जानुहोला। तपाईले नै काम गरेपछि धनगढी बन्ने हो, अनि धनगढी बने हामी पनि बन्ने हौँ।’ 

मेयर वडले पुनः सोही स्टाटसमा अर्को कमेन्ट गरे, जहाँ उनले दिनेश एफएमका पत्रकारलाई ‘दास’हरु भन्न सम्म भ्याए। लेख्छन् ‘दासहरु यस्तै हो।’ उप–महानगरपालिकाको मेयर जस्तो सार्वजनिक पदधारण गरेका व्यक्ति आम सञ्चार माध्यममा आवद्ध पत्रकारलाई दासको संज्ञा दिन मिल्छ की मिल्दैन्? उनै मेयर जानुन्।   

घटना २
गत बैशाख २९ मा धनगढी उप–महानगरपालिकामा निवेदन दर्ता गर्दै दिनेश एफएमले लकडाउनका बेला वितरण गरिएको राहत र लाभग्राहीको विवरण सम्बन्धी सूचना माग गरेका थियो। तर उप–महानगरपालिकाले सूचना दिन आनाकानी गरेपछि सूचनाको हक सम्बन्धी ऐन अनुसार राष्ट्रिय सूचना आयोगमा एफएमले उजुरी गर्यो।

उजुरी हालेपछि सूचना आयोगले धनगढी उपमहानगरपालिकाका नाममा कारण देखाउ आदेश जारी गर्यो। राष्ट्रिय सूचना आयोगको कारण देखाउ आदेशपछि धनगढी उप–महानगरपालिकाले सूचना उपलब्ध गरायो। तत्कालीन प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद सापकोटा र सूचना अधिकारी सुरेन्द्र कार्कीको नाममा कारण देखाउ आदेश जारी गरेपछि जवाफ पेश गर्न स्वयंम मेयर काठमाडौँ पुगेको स्रोत बताउँछ।

त्यतीबेला सूचना अधिकारी कार्कीसँगै मेयर पनि काठमाडौँ पुगेका थिए। जबकी प्रमुख प्रशासकिय अधिकृतले आयोगमा उपस्थित हुनुपर्ने थियो। त्यो त ठीकै थियो तर सूचना आयोगलाई उपमहानगरपालिकाले पेश गरेको जवाफ नागरिकको संवैधानिक हकमाथि हस्तक्षेप लगाउन खालको थियो।

जवाफमा लेखिएको थियो, ‘पुनरावेदकले माग गरेको विवरण राजनीतिक पूर्वाग्रहले ग्रसित छ। निज पुनरावेदक जनकसिह विष्ट दिनेश एफएमका सञ्चालकका कर्मचारी हुन्। दिनेश एफएमका सञ्चालक श्री गोपाल हमाल धनगढी उपमहानगरपालिकाको हाल वहालवाला नगर प्रमुख ज्यूका चुनावी प्रतिस्पर्धी भई नगर प्रमुखमा पराजीत उम्मेदवार हुन्। निजले बिना तथ्य र प्रमाण आफ्नो एफएम मार्फत धनगढी उपमहानगरपालिकाको बारेमा कुप्रचार गरिरहेका छन्।’ 

राजनीतिक पूर्वाग्राहको उजुरी भएकाले खारेज गरिदिन समेत आयोगमा बुझाएको जवाफमा उल्लेख छ। जबकी सूचनाको हक सम्बन्धी ऐन २०६४ ले हरेक नेपाली नागरिकलाई सूचनाको हक हुने व्यवस्था गरेको छ। चुनावमा प्रतिस्पर्धा गर्दैमा सार्वजनिक निकायको सूचना माग गर्न नपाउने हो भन्ने प्रश्नमा तत्कालीन प्रमुख प्रशासकिय अधिकृतले भनेका थिए, ‘मलाई कुनै आरोप लागेपछि पुष्टाई गर्नुपर्यो। त्यो क्रममा लेखेको हो,’ उनले भनेका थिए, ‘कुनैपनि व्यक्तिलाई हामीले लाल्छना लगाएका छैनौँ। त्यहाँको सञ्चालक गोपाल हमाल सम्मानीत हुनुहुन्छ। आदरणीय हुनुहुन्छ। उहाँ सफल उद्यमी हो। सफल व्यापारी हो। राजनीतिज्ञ पनि हो तर उहाँलाई व्यक्तिगत रुपमा उप–महानगरपालिकाले आक्षेप लगाएको होईन्। लेख्दा खेरी प्रतिस्पर्धी हो भनेर लेखियो होला। त्यो प्रतिस्पर्धा भएकै हो।’

उनले कुराकानीका क्रममा आफू एक कर्मचारी भएपनि विविध कारणले कानूनले निर्देष्ट गरेअनुसार काम गर्न नसकिएको बताएका थिए भने सूचना आयोगमा पठाईएको जवाफमा राजनीतिक विषय बाध्यताले जोडेको बुझिदिन समेत दिनेश खबरकर्मीलाई आग्रह गरेका थिए। उनको बाध्यता मेयर थिए वा अरु कोही उनैलाई थाहा होला। तर उनीसँग झण्डै डेढ घण्टा भएको संवाद दिनेश खबरसँग सुरक्षित छ।

कार्यकक्षबाट निस्कदै गर्दा तत्कालीन प्रमुख प्रशासकिय अधिकृत सापकोटाले भनेका थिए, ‘पत्रकार महोदय  म फेरी पनि भन्छु व्यक्तिगत रुपमा मैले लेखेको भनेर नबुझिदिनुहोला। विभिन्न कारण छन्। त्यो तपाईलाई पनि थाहै होला। अनुरोध गर्दछु। म कर्मचारी मान्छेलाई समस्या नपारीदिनुहोला।’ 

घटना ३
पछिल्लो पटक दिनेश सञ्चार गृहमा भएको आक्रमणमा पनि उनकै संरक्षण छ भन्ने चर्चा चल्यो। घटना भएको तीन दिनमा धनगढीकै सुदूर डेलीले एउटा समाचार छापेको छ। दिनेश सञ्चार गृहमा कसले गरायो सांघातिक आक्रमण ? के भन्छन् धनगढीका मेयर ? भन्ने शिर्षकको समाचारमा मेयरको भूमिकामाथि प्रश्न उठाईएको छ।

समाचार लेखिएको छ, "दिनेश संंचार गृहमा भएको साङ्घातिक आक्रमणमा धनगढी उपमहानगरपालिकाका मेयर नृप बहादुर वड माथि पनि शङ्काको सुइँ घुमेको छ। एकातिर मेयरका भतिजा समेत आक्रमणकारीहरूको समूहमा संलग्न रहेको खुल्नमा आएको छ। आक्रमणका क्रममा ‘अति नै भयो अब त’ आक्रमणकारी मध्येका एक जनाले भनेका थिए। उ सो त दिनेश सञ्चार गृहका प्रबन्धक निर्देशक समेत रहेका गोपाल हमाल बिच मेयर वडको मनमुटाब चलिरहन्थ्यो। अन्तरवार्ता क्रममा पटक–पटक आफू कार्य गर्न नसक्नुमा मेयर वडले दिनेश एफएम लाई नै आरोप बर्साउने गरेका थिए। सुदूरपश्चिमै प्रतिष्ठित मानिएको दिनेश सञ्चार गृहमा प्रवेश गरी आक्रमणकारीहरूले कुटपिट गरेपछि त्यस पछिको षडयन्त्र कसको थियो भन्नेमा दिनेश एफएमका सह सम्पादक जनक विष्टले नियोजित आक्रमण रहेको बताए। ‘समाचार अन्य सञ्चारमाध्यम बाट पनि प्रकाशन, प्रसारण भएको थियो।’ उनले भने,–‘तर पूर्व रिसिभी साध्न आक्रमण गराएका हुन्।’ धनगढी उपमहानगरपालिकाका मेयर नृप वडले भने समाचारको विषयलाई लिएर गरीएको आक्रमण निन्दनीय भएको बताए। मेयर पदमा रहेपछि दिनेश सञ्चार गृहप्रति कुनै द्धोस छैन। उनले भने,–साङ्घातिक आक्रमण भएको छ त्यो सरासर गलत हो।’ उनले भने,–‘आक्रमणकारीमा मेरै परिवारका सदस्य भएपनी कारबाही हुनुपर्छ।’ तर धनगढीका युवक मृत्यु प्रकरणलाई पनि सिधै आत्महत्या भनिदा आक्रमणकारीहरूमा एक किसिमको रोष उत्पन्न भएको हुनसक्ने उनले बताए। तर आक्रमणको साटो थप छलफलका माध्यमबाट वास्तविकताका लागी आग्रह गर्न सकिने अवस्था रहेपनी सिधै कुटपिट गरिनु सरासर गलत भएको उनले बताए। उनले दोषीहरूलाई जतिसक्दो चाँडो कारबाहीको दायरामा ल्याउन कैलाली प्रहरीलाई आग्रह गरिने बताए। उनले भने,–‘आक्रमण नै गरिनुपरे जमात नै पठाइन्थ्यो। तर त्यो आफूबाट सम्भव छैन।"

पढ्नुस सुदूर डेलीमा प्रकाशित त्यो समाचार

मेयरमाथि शंका किन ? 
धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले दिनेश सञ्चार गृहका विरुद्ध पदीय मर्यादा नाघेर सार्वजनिक रुपमा दिने गरेका प्रतिक्रिया माथि उल्लेख गरिसकिएको छ। ती प्रतिक्रिया र भूमिकाका कारण दिनेश सञ्चार गृहमाथि आक्रमण गर्नेहरु उनीबाटै परिचालित हुन् की भन्ने आशंका धेरैले गरेका छन्।

धनगढी मात्र नभएर संघिय राजधानी सम्म उक्त हल्ला चलेको छ। घटना भएको तीन दिनपछि दिनेश सञ्चार गृहमा मेयर वड पुगेका थिए। जहाँ उनले बाहिर सुनिएको हल्लामा सत्यता नभएको दावी सहितको प्रतिक्रिया दिदै आक्रमणमा संलग्नलाई कारवाही गर्नुपर्ने पक्षमा आफू रहेको प्रतिक्रिया दिएका थिए। 

सेती प्रादेशिक अस्पतालमा प्रर्दशन गरिरहेको भीडलाई जिवन भनिने समिर विकले दिनेश एफएमलाई ठीक पार्नुपर्छ भन्दै उक्साएर ल्याएका थिए। ‘दिनेश खबर अति नै भईसक्यो ठीक पार्नुपर्छ,’ सञ्चार गृहमा प्रवेश गर्ने बितिकै उनले भनेका थिए, ‘यिनीहरुलाई डोज पुगेको छैन्।’ बिक मेयरका भतिजा –फुपुका नाती) पर्नु र उनले मेयरकै भाषा बोल्नु संयोग मात्र थियो की अरु ? सम्बद्ध निकायले छानविन गरोस्। 

अर्को तीर ती विक न सार्वजनिक पदधारण गरेका व्यक्ति हुन् न त कुनै उपल्लो तहको नेता। उनले दिनेश सञ्चार गृहमा आवद्ध पत्रकार चिन्दैनन्। न उनको बारेमा दिनेश खबरले यसपूर्व कुनै समाचार छापेको छ। त्यती मात्र होईन् दिनेश सञ्चार गृहमा आक्रमण गर्ने सबैजसो युवा मेयरकै गाउँका भएपछि उनीमाथि आशंका गरिएको हुनसक्छ।

जिल्ला प्रहरी कार्यालयको हिरासतमा मृत्यु भएका १९ वर्षीय युवक रोशन बिक धनगढी उपमहानगरपालिकामा कार्यरत कर्मचारीका छोरा हुन्। कर्मचारीका छोरा भएका कारण पनि मेयर वडले उक्त घटनाको जिम्मेवारी लिएका थिए। 
स्थानीय प्रशासनसँग घटनाको निष्पक्ष छानविन गर्दै मृतकका परिवारलाई शव बुझ्ने सहमतीमा ल्याउने काम पनि उनैले गरेका थिए। जुन स्वभाविक नै हो।

तर त्यो घटनामा उनले दोहोरो भूमिका खेल्दै मौकाको फाईदा लिएको भन्नेहरु पनि छन्। स्रोतका अनुसार सेती प्रादेशिक अस्पतालबाट उत्तेजित भीड दिनेश एफएमतीर आउँदा मेयर वड पनि त्यहाँ उपस्थित थिए। उनले चाहेको भए त्यो भीडलाई रोक्न सक्ने थिए। सञ्चार गृहमाथि आक्रमण प्रकरणमा आफू जोडिने डरले मौन बसेका मेयर भित्रभित्रै आक्रमणकारीलाई भगाउने भूमिकामा रहेको आरोप लाग्दै आएको छ। 

आक्रमणमा संलग्न व्यक्तिहरुको घर घरमा पुग्दै मेयर वडले चिन्ता नलिन र आफूले उनीहरुलाई कानूनी कारवाहीबाट जोगाउने आश्वासन समेत बाडेको त्यहाँका स्थानीय बताउँछन्। आक्रमणकारीलाई संरक्षण दिने मनासायले नै मेयर वडले कैलालीका एसपीलाई समेत भेटेर मुद्दा कमजोर बनाउने उपाय खोज्न दबाब दिएको प्रहरी स्रोत बताउँछ।

जब दिनेश खबरमा आक्रमणमा संलग्न गिरोहका नाईके धनगढीका मेयरका भतिजा शिर्षकको समाचार प्रकाशित भयो। त्यसपछि मेयरले अनेकन प्रयत्न गरे। मेयरलाई त्यस्ता गतिविधी गराउनेमा उनकै निकटस्थ र नीजि सचिवालयका कर्मचारी छन्। उनले लामो समय सम्म पत्रकारिता गरेका, पत्रकारितामा राम्रो ज्ञान र अनुभव भएका व्यक्तिमा पर्ने टेकेन्द्र देउवालाई प्रेस सल्लाहकारका रुपमा राखेका छन्।

तर देउवाले मेयरलाई कस्तो सल्लाह दिईरहेका छन् भन्ने कुरा यसै घटनाबाट पुष्टि हुन्छ। सञ्चार गृहमा आक्रमण गर्ने गिरोहका नाईके धनगढीका मेयरका भतिजा शिर्षकको समाचारलाई लिएर धनगढी उपमहानगरपालिकाले विज्ञप्ती जारी गर्यो। अन्य सञ्चार माध्यमलाई मेयरकै प्रेस सल्लाहकारले दिनेश खबरमा प्रकाशित उक्त समाचारको खण्डन सहितको समाचार आफैले लेखेर पठाए।

समाचार अन्य सञ्चार माध्यमले सम्प्रेसण नगरेपछि प्रेस सल्लाहकार देउवाले पटकपटक फोन गर्दै समाचार प्रकाशन गर्न लगाए। ती मध्ये केहीले उनले पठाएको समाचार हुवहु छापे। केहीले कानूनी रुपमा समस्या हुने थाहा पाएपछि डिलिट समेत गरे। तर दिनेश खबरलाई भने अहिले सम्म उक्त समाचारको खण्डन र विज्ञप्ती आधिकारिक रुपमा अहिलेसम्म पठाईएको छैन्। मेयरका प्रेस सल्लाहकारलाई समाचारमा आपत्ती भए सम्बन्धीत मिडियालाई खण्डन पठाउनुपर्छ भन्ने ज्ञान नभएको हो? त्यो उनैलाई थाहा होला।   

दिनेश एफएमले गलत समाचार लेख्यो, त्यसैले आक्रमण भयो

धनगढीका मेयर वड अहिले मिडियाबाजीमा व्यस्त छन्। सोही क्रममा उनले धनगढीको रेडियो डेलीमेलमा हालै एउटा अन्तरवार्ता दिएका छन्। जुन अन्तरवार्ता सुन्दा हरेक सचेत वर्ग मेयरको भूमिका र दृष्टिकोणबारे प्रष्ट हुनसक्छन्। अन्तरवार्तामा मेयर वडले दिनेश सञ्चार गृहमाथि आरोप लगाउने क्रममा आफ्नो भूमिकाको छनक पनि दिएका छन्।

कार्यक्रम प्रस्तोता सञ्जय पन्तसँगको कुराकानीका क्रममा मेयरले दिनेश एफएममा भएको आक्रमणको पक्ष लिएर कुरा गरेका छन्। उनले दिनेश खबरले झुठ्ठा समाचार प्रकाशित गरेको दावी सहित मेयर वडले सोही कारण घटना निम्तिएको बताएका छन्। ‘समाचार पाए भन्दैमा आत्महत्या भनेर हालीदिने,’ अन्तवार्तामा उनले भनेका छन्, ‘त्यसलाई पनि विश्लेषण गर्नुपर्यो नी।’ त्यतीबेला नै प्रस्तोताले रोक्दै मेयरलाई प्रहरीको आधिकारिक प्रवक्ताले उपलब्ध गराएको कुरा गलत हुँदैन् भन्दा पुनः मेयर थप्छन्, ‘लिखित दिएको छ की छैन्। घटना घटेको ७ बजे छ। मैले त्यो घटनाका बारेमा बुझ्न पाएको छैन्। अनी आरोप लगाउने।’

यत्तिकैमा फेरी प्रस्तोता पन्त रोक्दै सोध्छन्, त्यो समाचार अरु सञ्चार गृह र अनलाईनमा पनि लेखिएको अवस्था छ नी ? जवाफमा उनी भन्छन्, ‘अरु सञ्चार गृहले तुरुन्त बजाएको अवस्था छैन्। त्यती बेला एक डेढ घण्टा मात्र पनि त्यो एफएमले समाचार नबजाएको भए घटना नै हुने थिएन। घटना आफैले निमत्याएको हो नी। त्यसका बाबजुद पनि त्यो आन्दोलनमा मेरो पूरै समर्थन थियो। धेरै पत्रकार साथीहरु, भाईहरुले हामी के गर्ने? भन्दा हैन तपाई जानुपर्यो।

अहिले दिनेश एफएममा चार्ज गरेको कुरा हामीले कमजोर बनायौँ भने अर्को समाचार गृहमा पनि हुनसक्छ यो घटना। यो निन्दनीय छ, यसका बारेमा तपाईहरु बढि भन्दा बढि जोड दिएर गर्नुस्। मेरो पनि संगठन छ नी त्यहाँ, मेरा पनि साथीहरु छन् नी। उनीहरुले म सँग सल्लाह लिदा तपाईहरु जानुस्। मेरो आफ्नो प्रेस सल्लाहकार आन्दोलनमा पठाएको छु। त्यो आवश्यक थिएन नी।’ जबकी त्यो समाचार दिनेश एफएमले बजाएको थिएन्।

दिनेश खवरमा प्रकाशन भएको हो। त्यो जानकारी सायद मेयर वडलाई अझै थाहा छैन्। अर्को कुरा अरु सञ्चार गृहले तुरुन्त बजाएको अवस्था छैन् भनेर मेयर वडले दिएको प्रतिक्रीया गलत छ। दिनेश खवरमा २६ गते १० बजेर १७ मिनेटमा उक्त समाचार प्रकाशन भएको छ भने अन्य मिडियामा त्यस्को आधा घण्टा अगाडि नै समाचार प्रकाशन भएको छ। उनीहरुले पनि प्रवक्ताले दिएको जानकारी अनुसार आत्महत्या नै भनेर समाचार लेखेका छन्। त्यसकाे प्रमाण दिनेश खबरसंग सुरक्षित छ।

मैले पठाएको भए एफएमको जग पनि बाँकी रहने थिएन

रेडियो डेलीमेलकै सोही कार्यक्रममा मेयर वडले पदीय मर्यादा नाघेर दिनेश एफएमको जग समेत नराख्ने गरी आक्रमण गर्न सक्ने हैसियत भएको घुर्की लगाएका छन्। उनले भनेका छन्, ‘ती केटाहरु मैले पठाएको भए दिनेश एफएमको जग समेत बाँकी राख्ने थिएनन्।’ जुन कुरो गुण्डागर्दीको उपज नै हो। यसमाथि समेत राज्यले छानविन गर्न जरुरी छ। नगर प्रमुख जस्तो व्यक्तिले यस्ता धम्कीपूर्ण भाषा प्रयोग गर्न उचित हुन्छ की हुदैन्। 

मैले पक्राउ गर्न लगाएको हुँ।

उनले अन्तरवार्ताका क्रममा प्रहरीलाई आफूले दिनेश सञ्चार गृहमा आक्रमण गर्नेलाई पक्राउ गर्न लगाएको उल्लेख गरेका छन्। एकातीर आन्दोलनलाई समर्थन गर्ने अर्कोतीर भित्रभित्रै आक्रमण गर भन्ने कुराहरु आए नी ? भनेर प्रस्तोता पन्तले सोधेको प्रश्नको जवाफमा उनले भनेका छन्, होईन त्यो ६ की ७ जना मान्छेहरु अहिले कस्टडीमा छ। त्यो कस्टडीमा कसले ल्यायो भन्ने सोध्नुपर्यो। अघि पनि भने मैले सञ्चालन गरेको भए सम्भवः मलाई लाग्छ जग पनि नरहन सक्थ्यो। 
३८ महिनादेखि दिनेश एफएम मेरो पछि परेको छ 

पन्तसँगको उक्त अन्तरवार्तामा मेयर वडले विगतमा जस्तै दिनेश एफएमलाई विकास विरोधीको संज्ञा दिन छोडेनन्। उनले ३८ महिनादेखि एफएमले आफूलाई काम गर्न नदिएको उल्लेख गरेका छन्। उनका भनाई सुन्दा लाग्छ की दिनेश सञ्चार गृह धनगढी उपमहानगरपालिकाकै मेयरको विरोधका लागि स्थापना भएको संस्था हो।

तर वास्तविकता फरक छ। धनगढीमा दिनेश एफएम १३ वर्ष पहिले स्थापना भई यस क्षेत्रका सार्वजनिक सरोकारका मुद्दामा आवाज उठाउँदै आएको कुरा आम नगरबासीलाई अवगत छ। मेयरलाई यो कुराको हेक्का हुनु जरुरी छ की दिनेश एफएम ३८ महिना पहिले मात्र स्थापना भएको संस्था होईन्।

सञ्चालकले चुनावी प्रतिस्पर्धा गर्यो भन्दैमा सञ्चार माध्यमले आफ्नो बारेमा समाचार नै बजाउनुहुदैन् भन्ने कुरा कतिको न्यायोचित हुन्छ? पूर्वाग्रही भएर सम्प्रेषण गरिने समाचारका कानूनी उपचारका पाटा पनि छन्। ३८ महिनाको अवधीमा दिनेश एफएमले बजाएका कति समाचारमा कानूनी उपचार खोजियो ? त्यसको लेखाजोखा गरेर आम नगरबासीलाई जानकारी दिनु उचित हुन्छ। 

भतिजा बारे मेयर मौन ? 

डेलीमेल एफएममै प्रस्तोता पन्तले घटनामा संलग्न बिकलाई मेयरसँग जोडिएको विषयमा प्रश्न गरेका छन्। तर उनले बिक आफ्ना भतिजा नभएको कही कतै दावी गरेका छैनन्। मेयर साप तपाईका भतिज त भतिजै हुन् नी ? जवाफमा उनी भन्छन्, ‘धनगढीमा कोही भतिजा, कोही दाजुभाई होलान् सबैमा मेयरलाई नै जोडिहाल्नुपर्ने।’

हेर्नुस मेयरले रेडियो डेलीमेललाई दिएको अन्तरवार्ता

गल्ति स्वीकार्न किन समस्या ? 
२०७२ भदौ ७ गते टीकापुर घटना भयो। कैलालीका तत्कालित प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठलाई गृह मन्त्रालयले फिर्ता बोलायो। ८ गते प्रमुख जिल्ला अधिकारीको रुपमा मोहन चापागाईलाई खटाईयो। कैलाली बसाईको क्रममा चापागाईले दर्जन बढि कार्यक्रममा भनेका थिए, ‘दिनेश एफएमको समाचार सुनेरै मलाई काम गर्न सहज हुने गरेको छ। दिनेश एफएमले कमजोरी देखाउँछ। ति कमिकमजोरीलाई योजनावद्ध रुपमा हामी सुधार गर्छाै।’ 

धनगढीलाई केन्द्र बनाएर सवाल उठान गर्दै आएको दिनेश एफएम र दिनेश खवरले समाचारमार्फत देखाएका कमजोरीलाई मेयर वडले भने कहिले पनि सकारात्म रुपमा लिएनन्। कुनै समाचार लेख्यो भने दोस्रो दिन समाचार नै गलत हो भन्दै विज्ञप्ती जारी गर्ने हतार मात्रै भयो, उपमहानगरपालिका र मेयर वडलाई। एक पटक मेयर वड कसरी काम गर्ने भन्दै पार्टी सभापति नरनारायाण शाह मनुलाई भेट्न गए।

‘दिनेश एफएमको समाचार सुन्ने। कमजोरी देखाउने काम एफएमले गरेको छ। ति कमजोरीलाई सुधार्दै गए काम भईहाल्छ।’ जवाफमा सभापति शाहले भनेको चर्चा बजारमा थियो। त्यसपछि मेयर वडले केही दिनसम्म दिनेश एफएमको बारेमा बोल्न छोडेका पनि थिए।

कोरोना भाईरसको प्रभावपछि जारी लकडाउनले समस्यामा परेका नागरिकलाई राहत वितरण सुरु हुँदा उप–महानगरपालिकाले कुहिएको चामल वितरण गरेको पाइयो। सोही समाचार दिनेश एफएम र खवरमा पनि प्रशारण र प्रकाशन भयो। कुहिएको चामल वितरण गरिएको कुरा उप–महानगरपालिकाकै छानविन समितिले पनि पुष्टि ग¥यो।

तर मेयर वड अहिलेसम्म पनि त्यो कुरा स्वीकार्न तयार छैनन्। उल्टै नगर सभामा भाषण गर्दै उनले भनेका थिए, ‘दुई प्रतिशत मिडियाका साथीहरु सामान्य कुरालाई पनि पहाड बनाउने संस्कार बसेका छन्। त्यो दुई करोड ६१ लख )चामलको ठेक्का भएको रकम) सधै बोकेर हिड्ने मान्छेमा पर्छु म। त्यो इतिहास हो मेरो।’ 

फोन उठाउँदैनन् मेयर वड
धनगढी उप–महानगरको गतिविधिबारे कुनै गुनासो आए, दिनेश सञ्चार गृहका पत्रकारले प्रत्येक पटक फोन गर्दै आएका छन्, उनको प्रतिक्रीयाका लागि। तर मेयर वडले दिनेश सञ्चार गृहमा कार्यरत पत्रकारको फोन उठाउन छोडेको ६ महिना भन्दा बढि भएको छ। यस पटक पनि मेयर वडलाई प्रतिक्रीयाका लागि फोन गर्दा उनले फोन उठाएनन्। 

अन्तमा,
धनगढी उप–महानगरपालिकाका मेयर नृपबहादुर वडका विगतका र पछिल्लो समयका दिनेश सञ्चार गृह विरोधी अभिव्यक्ति सञ्चार माध्यममा सार्वजनिक भएकै कुरा हो। गत भदौ २६ गते दिनेश एफएममा भएको आक्रमणमा समेत मेयरको शंकास्पद भूमिकालाई उनकै भनाईले थप बल पुगाएको देखिन्छ।

त्यती मात्र नभएर उनी निकटका व्यक्तिहरु जो मेयरको राजनीतिक सल्लाहकार भएको भन्दै घुर्की लगाउँदै हिड्छन उनीहरु अहिले पनि दिनेश सञ्चार गृहका कर्मचारीको घाँटी रेट्ने सम्मका घुर्की लगाउँदै हिडेका छन्। जुन कुरा सञ्चार गृहले कैलालीको स्थानीय प्रशासनलाई जानकारी गराईसकेको छ।

यस कारण नेपाल पत्रकार महासंघ, स्थानीय प्रशासन, उनी आवद्ध पार्टी नेपाली काँग्रेस लगायतका सम्बद्ध निकायले मेयरको भूमिकामाथि निष्पक्ष छानविन गर्न जरुरी छ। सार्वजनिक पदधारण गरेका व्यक्तिले खुलेआम धाकधम्की र गुण्डार्दी शैलीको भाषा प्रयोग गर्नु असामान्य कुरा भएकाले बेलैमा सम्बन्धीत निकायले यसतर्फ गम्भीर रुपमा सोचुन।

कमेन्ट लोड गर्नुस