सुदूर नेपाललाई विश्वसँग जोड्दै

३ महिनादेखि साँफे मार्तडी सडक अवरुद्ध हुँदा उत्तरी क्षेत्रमा खाद्य संकट

२०७७ असोज १२, ०५:३२ प्रकाश सिंह

बाजुरा: साँफे–मार्तडी सडकखण्ड ३ महिनादेखि अवरुद्ध बनेको छ। विभिन्न ठाँउमा पहिरो गएपछि र बाढीले पुल बगाएपछि असारदेखि उक्त सडकखण्ड अवरुद्ध बनेको हो। 

लगातारको वर्षासँगै आएको बाढीपहिरोले साँफे–मार्तडी सडक खण्डको बार्जुगाडदेखि मार्तडीसम्म ठाँउठाँउमा सडक अवरुद्ध बनेको छ। त्यस्तै बुढीगंगामा बेलिब्रिज र ताप्रिसेरामा पुल बगाएको छ। 

सडक सञ्चालनमा नहुँदा यातायातका साधन तथा स्थानीयलाई आवतजावत गर्न समस्या भएको छ। जसका कारण सदरमुकाम मार्तडीलगायत उत्तरी क्षेत्रमा चरम खाद्य संकट निम्तिएको छ। ती क्षेत्रमा दैनिक उपभोग्य सामानको मुल्य पनि आकाशिएको छ। 

सडक खुलाउने प्रयास विफल बन्दै 
वर्षा कम भएसँगै सडक विभागले सडक खोल्न प्रयास गरेको भएपनि प्रयास विफल बनेको छ। डोजरले सडक खण्डको बुढीगंगा नगरपालिका १ बल्धेदेखि द्धवारीसम्म खोल्दै गएपनि पछाडीबाट सडक भत्किरहेको छ। 

सडक विभागले सडक खुलाउनका लागि दुई÷तिन स्थानमा डोजर लगाएको छ। अगाडि काम गर्दैगर्दा फेरि पछाडी भत्किरहेको सडक विभागका ईन्जिनियर दमन बिष्टले बताए। ‘एकचरणमा ट्रयाक खोलेका थियौ। फेरि पहिरो आएकाले समस्या भएको छ’ उनले भने, ‘३ ठाँउमा दलदल भएको र माथिबाट पहिरो आइरहेकाले सडक खुलाउन निकै समस्या भएको छ।’

यस्तै पहिरोले बुढीगंगा नगरपालिका–१ अम्कोटमा सडक नै तहसनहस हुनेगरी बिगारेको छ। अन्य ठाँउमा सडक खुलाएको भएपनि बुढिगंगाको बल्देदेखि द्धवारीसम्म करिब २ किलोमिटर सडक खोल्न निकै समस्या भएको प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले बताए। ‘सडक खुलाउन सबैतिर पहल भइरहेको छ। सडक विभागले पनि काम गरिरहेको छ तर पहिरो आइरहने र केही ठाँउमा पानी भएकाले समस्या भइरहेको छ’ उनले भने।  बुढीगंगा नदिमा बेलिब्रिजको लागि पनि तयारी भइरहेको गैह्रेले बताए। 

सडक जोखिममा हुँदा सदरमुकाम मार्तडी, बाजुराको उत्तरी क्षेत्र हुम्ला र मुगुको आगमनमा समस्या भएको छ। सडक अवरोधले ती क्षेत्रमा दैनिक उपभोग्य सामान तथा औषधिको चरम अभाव भएको छ। 

दुई वर्षदेखि साँफे–मार्तडी सड्क अवरुद्ध हुँदै आएको थियो। सडक जोखिममा रहेको बारे सम्बन्धित निकायलाई जानकारी भएपनि कसैले वास्ता नगरेको नागरिक समाजका अगुवा शेरबहादुर शाहिले बताए।  

 

प्रकास सिह दिनेश खवरका बाजुरा संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस