सुदूर नेपाललाई विश्वसँग जोड्दै

छाडा चौपाया संरक्षणका लागि डडेल्धुराको गन्यापधुराले बनायो गौशाला

२०७७ असोज १२, ०१:३० खबर संवाददाता

धनगढी: डडेल्धुरा सदरमुकामबाट भीमदत्त राजमार्ग अन्तरगतको साहुखर्क क्षेत्रमा छाडिने छाडा पशु चौपाया व्यवस्थापनका लागि गन्यापधुरा गाउँपालिकाले कदम चालेको छ। गाउँपालिकाले गन्यापताल क्षेत्रमा पशु चौपायाको सहजताका लागि गौशाला निर्माण गरेको छ। 

अहिले ढाई सय बढी पशुचौपाया अटाउने काठको गोठ बनाई प्रयोगमा ल्याइएको गाउँपालिका अध्यक्ष नबल मल्लले बताए। यस्तै करिब तिन लाख रकमको लागतमा अन्य तिन/चार वटा गोठ समेत बनाउने योजना रहेको उनले बताए। 
उक्त क्षेत्रमा तराईबाट गएका तथा पहाडबाट छाडिएका चौपाया रहेका छन्।

गन्यापताल क्षेत्रसँग डोटीको शिखर नगरपालिका र जोरायल गाउँपालिकाको सिमा जोडिएको छ। शिखर नगरपालिका र जोरायल गाउँपालिकालाई पनि गोठ निर्माणका लागि आग्रह गरेको अध्यक्ष मल्लले बताए। जंगमा छाडिएका पशुचौपायालाई चिसोबाट जोगाउन तथा सडक दुर्घटनामा पर्नबाट जोगाउन सबैले प्रयास गर्नुपर्ने अध्यक्ष मल्लले बताए।

‘आजको आधुनिक संसारमा गाईको अपमान गरी जताततै छाडा छोडिदिने गरेकाले गाईको संरक्षणको अपेक्षा हामी मानवबाटै गरेका छौ। यसकारण जंगलमा छोडिएका गाईलाई चिसोबाट जोगाउन गोठ निर्माण गरेका हौ’ उनले भने। 

निर्माण गरिएको गोठमा हाल सवा एक सयको हाराहरीमा गाईहरु आफै आएर बाँस बस्छन्। आगामी दिनमा अझै यस्ता गोठ निर्माण गरी पशुुचौपायाको बाँच्ने हकको संरक्षण गर्ने योजना गाउँपालिकाको रहेको छ। 

 

कमेन्ट लोड गर्नुस