सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका उद्योगीको माग, ‘व्यवसाय संकटमा पर्‍यो, भारतीय कामदारलाई प्रवेश दिनुपर्‍यो’

२०७७ असोज १२, ११:२४ कमल सावद

धनगढीः विश्व व्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनले दुई महिनासम्म पनि धनगढी फुडवेयरका प्राविधिकहरु भारत फर्किएका थिएनन्। १५ जना भारतीय प्राविधिक धनगढीमा बसोबास गर्दै आएका थिए।

लकडाउनको समय थप भएपछि उनीहरु भारत फर्किए। तर अहिले आएर सरकारले उद्योग सञ्चालनको अनुमती दिए पनि उनीहरुले सीमा प्रवेशको अनुमती पाएका छैनन्। भारतीय प्राविधिकले प्रवेश अनुमती नपाएकाले फुडवेयर समेत सञ्चालन भएको छैन्। धनगढी फुडवेयरकी सञ्चालिका सीता ढकालले भारतबाट प्राविधिक ल्याउन नदिएर सरकारले हातखुट्टा बाधेर पौडी खेल्न जाउ भने जस्तै गरेको बताइन्।

‘मेरा प्राविधिक सबै भारतीय नागरिक छन्। उनीहरु नआएर उद्योग सञ्चालन हुने अवस्था छैन्। सरकारले व्यापार व्यवसाय सञ्चालन गर्न भनेको छ। तर प्राविधिक ल्याउन दिएको छैन्। हामी उद्योगीलाई समस्या भएको छ। सरकारले प्राविधिकलाई मात्र ल्याउन दिन माग गर्दछु।’

भारतीय प्राविधिकलाई सीमा प्रवेशका लागि पहल गरेको उनले बताईन्। तर गौरीफन्टा नाकाबाट ल्याउन नेपाल प्रहरीले रकम मागेको उनको आरोप छ। तीन÷चार हजारमा एक जनालाई ल्याउन सकिने भएपनि धनगढीका उद्योगले रकम नदिदा ल्याउन नसकेको उनी दावी गर्छिन्।

उद्योगीहरु घरेलु तथा साना उद्योग महासंघ सुदूरपश्चिम र उद्योग वाणिज्य संघ कैलालीमा दैनिक जसो भारतीय जनशक्तिलाई सीमा प्रवेशको अनुमती दिनका लागि पहल गरिदिन भन्दै निवेदन दिदै आएका छन्। भारतीय कामदारलाई सीमा प्रवेशको अनुमती नहुँदा कैलालीका व्यवसायी संकटमा परेका हुन्।

जिल्लामा सञ्चालनमा रहेका साना तथा मझौला उद्योग भारतीय दक्ष कामदार नभएकाले सञ्चालन गर्न सकिएको छैन्। नेपाली कामदारले मेसिन सञ्चालन गर्न नसक्ने हुँदा समस्या भएको हो। कोरोना भाइरसको संक्रमणको त्रासपछि गरिएको लकडाउनले उनीहरु भारत गएको र पुनः नेपाल प्रवेशको अनुमती नभएकाले धेरै उद्योग बन्द छन्।

उद्योगीहरुले नेपाल सरकारलाई भारतीय दक्ष जनशक्तिलाई प्रवेशको अनुमति दिन माग गरेका छन्। रुपक होजियरीका सञ्चालक समेत रहेका घरेलु तथा साना उद्योग महासंघ सुदूरपश्चिमकी महिला सिमिति अध्यक्ष रुक्मणी देवकोटाले धनगढीका व्यापारी दैनिक महासंघमा आउने गरेको बताइन्।

‘मेरो उद्योग बन्द भएको तीन महिना भयो। प्राविधिक जती सबै भारतीय थिए, उनीहरु घर फर्किएकै कारण बन्द भएको हो। उद्योग बन्द हुँदा नेपाली कामदारको समेत रोजगारी गुमेको छ। एक जना प्राविधिकले १५÷२० जनालाई रोजगारी दिलाउँछन्। तर उनीहरु नआएकाले कामदार समेत बेरोजगार भएका छन्। उनीहरुलाई साँझ बिहानको खाना खान समेत समस्या भएको छ।’ उनले भनिन्।

भारतीय कामदारले सीमाबाट प्रवेशको अनुमती नपाएकाले धनगढी लगायतका क्षेत्रका उद्योग सञ्चालन हुन नसकेका हुन्। जिल्लामा सञ्चालित जुत्ता उद्योग, होजियरी उद्योग, चिउरा उद्योग, इट्टा उद्योग लगायत भारतीय दक्ष प्राविधिक नभएकाले सञ्चालन गर्न नसकिएको गुनासो गरिएको छ।

उद्योगका मेसिन सञ्चालनका लागि अपरेटर तथा मुख्य प्राविधिक भारतीय रहेकाले उद्योग सञ्चालन गर्न नसकिएको हो। उद्योग सञ्चालनका लागि दक्ष जनशक्ति नभएकाले अन्य नेपाली कामदार समेत बेरोजगार भएका छन्। उद्योग सञ्चालन नहुँदा उद्योगीलाई बैँकको ऋण, घरभाडा, विद्युत महशुल लगायत खर्चको जोहो गर्न मुस्किल भएको छ।

भारतिय दक्ष जनशक्तिलाई सीमामा प्रवेशको अनुमती दिन नेपाल सरकारलाई आग्रह गरिएको उद्योग वाणिज्य संघ कैलालीका अध्यक्ष पष्पराज कुँवरले बताए। उद्योगमा काम गर्ने प्राविधिकलाई सीमा प्रवेशका लागि नेपाल सरकारलाई जिल्ला प्रशासन मार्फत आग्रह गरिएको उनले बताए। भारतीय नागरिकको पिसिआर परीक्षण, आइसोलेसन व्यवस्थापन लगायतको खर्च समेत उद्योगीहरुले व्यहोर्ने बताएका छन्।

तर कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनको बारेमा जानकारी गराउँने र प्रधानमन्त्रीको कार्यालयलाई ज्ञापन पत्र चाडो पठाउने बताए। सरकारले पनि उद्योगीको समस्याका बारेमा कुनै न कुनै निर्णय गर्ने उनको दावी छ। 
 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस