सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाली संरक्षण प्रयोगशाला स्थापना

२०७७ असोज १०, ०८:२३ रासस

कृषि ज्ञान केन्द्र तनहुँले बाली संरक्षण प्रयोगशाला स्थापना गरेको छ। कृषि बालीमा लाग्ने रोगकिराको सही पहिचान गरी बालीको उचित संरक्षण गर्ने उद्देश्यले प्रयोगशाला स्थापना गरिएको हो। प्रयोगशालाको स्थापनाबाट अब जिल्लामै बालीमा कुन रोग र कुन किराको प्रकोप हो भन्ने परीक्षण हुने केन्द्रका प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिए।

केन्द्रको पछाडि दक्षिणपट्टी खाली रहेको करिब छ रोपनी जग्गामा प्रयोगशाला निर्माण गरिएको हो। प्रयोगशाला निर्माणका लागि गत वर्ष गण्डकी प्रदेश सरकारबाट रु.पाँच लाख ५० हजार रकम प्राप्त भएको थियो। यसअघि कृषकले जिल्लामा बालीमा लाग्ने रोगको लक्षणको आधारमा औषधि प्रयोग गर्दै आएकामा अबदेखि यो बाध्यता हटेको छ।

प्रयोगशालाले जिल्लाका कृषकका लागि शुरुमा रोगकिराको प्रकोप पत्ता लगाई बाली संरक्षण गर्न पहिलो चरणमा किसानको घरदैलोमै पुगेर सेवा प्रदान गर्ने योजना रहेको प्रमुख तिवारीले बताए। उनले प्रयोगशालामा अहिले उन्नत जातका गोलभेडा, काउली र खुर्सानीको परीक्षण गरिरहेको बताउँदै आगामी दिनमा अन्य तरकारी बालीको पनि परीक्षण गर्दै जाने योजना रहेको जानकारी दिए। 
 

कमेन्ट लोड गर्नुस