सुदूर नेपाललाई विश्वसँग जोड्दै

सन्दीप आबद्द दिल्लीको लगातार दोस्रो जित

२०७७ असोज १०, ०५:५५

नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द दिल्ली क्यापिटल्सले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) मा लगातार दोस्रो जित निकालेको छ। शुक्रबार राति भएको खेलमा चेन्नई सुपर किङ्सलाई ४४ रनले पराजित गर्दै दिल्लीले लगातार दोस्रो जित निकालेको हो।

दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा दिल्लीले दिएको १ सय ७६ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३१ रन मात्र बनाउन सक्यो। चेन्नईका लागि फाप डु प्लेसिसले ४३ रन जोडे। यस्तै केदार जाधबले २६ रन जोड्दा शेन वाट्सन १४ र मुराली विजय १० रनमा आउट भए।

दिल्लीका कागिसो राबडाले ३ विकेट लिए। यस्तै एन्रीच नोर्ट्जेले २ तथा अक्षर पटेलले १ विकेट लिए। दिल्लीले सन्दीपलाई भने मैदान उतारेको थिएन। यस अघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ३ विकेट गुमाएर १ सय ७५ रन बनाएको थियो।

दिल्लीका लागि ओपनर पृथ्वी शले ६४ रनको अर्धशतकीय इनिङ्स खेले । शिखर धवनले ३५ रन जोडे। शिखर र पृथ्वीले पहिलो विकेटका लागि ९४ रनको साझेदारी गरेका थिए। यस्तै ऋषब पन्तले अविजित ३७ र कप्तान श्रेयस आयरले २६ रन बनाए।

चेन्नईका पियुस चावालाले २ विकेट लिए। साम करनले एक विकेट लिए। जितसँगै दिल्लीले २ खेलमा ४ अंक जोडेको छ। दिल्ली तालिकाको शीर्ष स्थानमा समेत उक्लिएको छ।

तीन खेल खेलिसकेको चेन्नईको यो लगातार दोस्रो हार हो। चेन्नईले ३ खेलमा २ अंक जोडेको छ। चेन्नई तालिकाको पाँचौं स्थानमा रहेको छ।
 

कमेन्ट लोड गर्नुस