कैलालीका स्वंयम सेविकाको गुनासो : महामारीका बेला स्वास्थ्य सुरक्षाका सामाग्री पाएनौँ
धनगढीः कैलालीका महिला स्वास्थ्य स्वयम सेविकाहरुले कोरोना महामारीका बेला समेत स्वास्थ्य सुरक्षाका सामाग्री नपाएको गुनासो गरेका छन्।
महामारीको त्रासमा पनि काम गर्दै आएका स्वयम सेविकाहरुले यस्तो गुनासो गरेका हुन्। इन्सेकले आज आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी स्वास्थ्य स्वयम सेविका मञ्जु चौधरीले नगरपालिका महिला स्वास्थ्य स्वयम सेविकाको सुरक्षाको बारेमा समेत जिम्मेवार हुनुपर्ने बताइन्। स्वास्थ्य सुरक्षाका सामाग्री स्वयम सेविकाहरुलाई समेत वितरण गर्नु पर्ने उनको माग छ।
गौरीगंगा नगरपालिकाको वडा नम्बर २ को चौमाला प्राथममिक स्वास्थ्य केन्द्रमा रहेको भिडियो एक्सरे मेसिन समेत मर्मत गर्न महिला स्वास्थ्य स्वंयम सेविकाहरुले माग गरेका छन्।
वडा नम्बर २ का अध्यक्ष जगतराम चौधरीले महिला स्वास्थ्य स्वयम सेविकाका गुनासो र स्वास्थ्य केन्द्रको समस्याका बारेमा नगरपालिकालाई जानकारी गराउने बताए। उनले नगर प्रमुखसँग सो विषयमा छलफल गर्ने बताएका हुन्।
अन्तरक्रिया कार्यक्रम इन्सेकको मानव अधिकार समूह र इन्सेक सुदुरपश्चिम प्रदेशले संयुक्त रुपमा आयोजना गरेको इन्सेक कैलालीका सहजकर्ता दिपक नेपालीले बताए।