सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा राष्ट्रिय परिचय पत्रको लागि विवरण सङ्कलन शुरु

२०७७ असोज ९, ०१:३७ रासस

जिल्ला प्रशासन कार्यालय दार्चुलाले राष्ट्रिय परिचयपत्र वितरण गर्ने कार्यक्रमअन्तर्गत विवरण सङ्कलनका काम शुरु गरेको छ।

जिल्ला समन्वय समिति प्रमुख करवीर कार्की, महाकाली नगरप्रमुख हंशराज भट्ट र मार्मा गाउँपालिका अध्यक्ष जमनसिंह धामीको फोटो खिचेर आवश्यक विवरण सङ्कलन गरी काम शुरु गरिएको हो।
    
सङ्कलन गरिएको विवरण प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले समन्वय प्रमुख कार्कीलाई हस्तान्तरण गर्दै राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन भएको जनाए । प्रजिअ पोखरेलले यो अभियान निरन्तर रहने बताए। उनले राष्ट्रिय परिचयपत्रले व्यक्तिका सबै विवरण बुझाउने हुँदा सबैलाई नागरिकताको सक्कलै प्रति अनिवार्य बोकेर जिल्ला प्रशासन कार्यालयमा आउनसमेत आग्रह गरे।

पहिलो दिन बिहीबार दार्चुलाका मार्मा, अपिहिमाल गाउँपालिका र शैल्यशिखर नगरपालिका गरी थप छ जनाको विवरण सङ्कलन गरिएको छ। जिल्ला प्रशासनले नागरिकता बनाउन आउने सबै व्यक्तिको अबदेखि राष्ट्रिय परिचयपत्रका लागि समेत विवरण सङ्कलन गर्ने प्रजिअ पोखरेलले बताए। सङ्कलन गरेर ल्याएपछि ती विवरणको आधारमा परिचयपत्र बाँडिनेछ। परिचयपत्रका लागि विवरण भर्न सम्बन्धित व्यक्ति, बुबा र आमाको नागरिकता पनि आवश्यक पर्नेछ ।

दश अङ्कको नम्बर रहेको परिचयपत्रमा नागरिकको सबै विवरण साथै नागरिकतामा नभएको हजुरबुबाको नाम, आमाको नाम, पति र पत्नीको नाम, हातका औँठाछाप, शैक्षिक योग्यता, पेशा अस्थायी र स्थायी ठेगाना उल्लेख गर्नुपर्ने छ। 
यसरी भरेर पठाएको विवरण राष्ट्रिय परिचयपत्र व्यवस्थापन तथा पञ्जीकरण विभागबाट राष्ट्रिय परिचयपत्र तयार पारेर जिल्लामा पठाएपछि सम्बन्धित व्यक्तिले पाउनेछ। केन्द्रीय विभागबाट राष्ट्रिय परिचयपत्र जिल्लामा आइपुग्न छ महिना लाग्ने प्रजिअ पोखरेलले बताए।
 

कमेन्ट लोड गर्नुस