सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा सिकाई केन्द्र मार्फत टोलटोलमा शिक्षक पठाएर पठनपाठन सुरु गर्ने तयारी

२०७७ असोज ८, १०:२४ कमल सावद

धनगढी– कैलालीका स्थानीय तहहरु सिकाई केन्द्र मार्फत पठनपाठन सुरु गर्ने तयारीमा जुटेका छन्। ६ महिनादेखि बन्द रहेका विद्यालय तत्काल सुचारु गर्न सकिने अवस्था नरहेको भन्दै सिकाई केन्द्र मार्फत पठनपाठन सुरु गर्ने तयारी भएको हो।

सिकाई केन्द्र मार्फत पठनपाठन गर्दा विद्यार्थीले विद्यालय पुग्न पर्दैन भने शिक्षकले नै समुदायमा गएर पठनपाठन गर्नुपर्ने हुन्छ। शिक्षा तथा प्रविधि मन्त्रालयको भदौ १९ मा मन्त्री स्तरिय बैठकबाट पारित निर्णय अनुसार विद्यार्थी सिकाई सहजीकरण निर्देशिका अनुसार जिल्लाका स्थानीय तहहरुले पठनपाठन सञ्चालनको तयार थालेका हुन्। कैलारी गाउँपालिकाले सिकाई केन्द्र मार्फत नै पठनपाठन सुरु गर्ने तयारी थालेको शिक्षा शाखा प्रमुख गणेश प्रशाद मिश्रले बताए। सिकाई केन्द्र मार्फत पठनपाठन सुरु गर्दा टोलटोलमा शिक्षक पठाउने र सोही ठाउँमा अध्यापन गराउन पर्ने उनले बताए। उनले भने, ‘हाम्रो पालिकामा अन्य विकल्प अनुसार पठनपाठन सुरु गर्न सकिने अवस्था छैन्,’ उनले भने, ‘सिकाई केन्द्र मार्फत नै पठनपाठन गर्नु पर्ने हुन्छ। केही सिकाई केन्द्रका लागि विद्यालय समेत प्रयोग गर्न सकिन्छ।’

कतिपय स्थानीय तहले भने रेडियो र टेलिभिजन मार्फत पनि पठनपाठन सुचारु गर्ने तयारी गरेका छन्। त्यस्का लागि असोज १५ गतेभित्रै विद्यार्थीलाई पाठ्यपुस्तक वितरण गर्न स्थानीय तहले विद्यालयहरुलाई निर्देशन दिएका छन्। धनगढी उप–महानगरपालिकाले असोज १५ गतेभित्र पाठ्यपुस्तक वितरण गर्न निर्देशन दिएको छ। उप–महानगरपालिकाले विद्यार्थीलाई भर्ना गर्न र समुदायस्तरमा सिकाई केन्द्र मार्फत अध्यापन गराउन तयारी थालेको शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख विष्णुप्रसाद कोइरालाले बताए। नेपाल सरकारले तयार गरेको निर्देशिका अनुसार अन्य विकल्पको बारेमा समेत अहिले छलफल भईरहेको उनले बताए। ‘१५ गते सम्म पाठ्यपुस्तक वितरण गर्न भनेका छौ। विद्यार्थीको अभिलेखिकरण गर्ने काम पनि हुँदैछ्। १५ गतेभित्र कुन माध्यामबाट पठनपाठन सुरु गर्ने भन्ने पनि निर्णय हुन्छ।’ उनले भन्े।

कोरोना भाइरस संक्रमणको त्रासपछि गत चैतदेखि बन्द रहेका विद्यालय सञ्चालनका लागि जिल्लाका स्थानीय तहहरुले विकल्पको खोजी गरेका हुन्। सबै विद्यार्थीलाई विद्यालयमा जम्मा गर्दै अध्यापन गराउने अवस्था नभएको भन्दै उनीहरुले निर्देशिका अनुसार विकल्पको खोजी गर्न थालेका हुन्। इन्टरनेट, रेडियो, टिभि लगायतका माध्यामबाट अध्यापन गराउने भन्ने विषयमा पनि छलफल भईरहेको जिल्लाको गोदावरी नगरपालिकाको शिक्षा शाखाका शाखा अधिकृत प्रयागराज जोशीले बताए।

शिक्षा तथा प्रविधि मन्त्रालयको विद्यार्थी सिकाई सहजीकरण निर्देशिकामा कोरोनाको संक्रमण दर हेरी नियमित रुपमा विद्यालय संचालन हुनसक्ने अवस्था भएमा प्रत्येक्ष सिकाई क्रियाकलाप गर्न बाधा हुने छैन भन्ने निर्णय भएको छ। सोही अनुसार जिल्लामा पठनपाठन सुरु गर्न तयारी थालिएको कैलालीका शिक्षा इकाई प्रमुख बैकुण्ठ सुवेदीले बताए। उनले भने, ‘जिल्लाका स्थानीय तहहरुसंग छलफल गरेका छौ। सबै स्थानीय तहहरुमा पठनपाठनको तयारी छ। तर कुन माध्यामबाट गर्ने भन्ने बिषयमा भने टुंगो लागेको छैन्।’

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस