सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङको साइपालका ६ सयभन्दा बढीमा आँखाको समस्या

२०७७ असोज ७, ०२:१५ खबर संवाददाता

बझाङ: बझाङको साइपाल गाउँपालिकाका ६ सयभन्दा बढीमा आँखाको समस्या देखिएको छ। आँखा सम्बन्धी समस्या जाच्न गएको स्वास्थ्यकर्मीहरुको टोलीले ६ सय ४३ जनामा आँखा सम्बन्धी समस्या रहेको फेला पारेको हो। 

गाउँपालिकाभरिका ९ सय २३ जनाको आँखा परीक्षण गर्दा ६३ जनामा मोतिबिन्दुलगायत शल्यक्रिया गर्नुपर्ने खालको समस्या देखिएको र ५ सय ८० जनाको औषधि उपचारपछि नियमित चश्मा लगाएमा दृष्टि पूर्ववत फर्किने सम्भावना रहेको परीक्षण टोलीले जानकारी दिएको छ। 

गेटा आँखा अस्पताल र जिल्ला अस्पताल बझाङको टोलीले गरेको प्रारम्भिक परीक्षणका क्रममा लामो समयदेखि अन्धोपनमा रहेका कतिपयको अवस्था निकै जटिल भइसकेको पाइएको टोलीमा सहभागी स्वास्थ्यकर्मीहरुले बताएका छन्।
साइपालका आँखा रोगीहरुको शल्यक्रियासहितको उपचार गर्ने गरी कात्तिक पहिलो साता शिविर सञ्चालन गर्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले जानकारी दिएका छन्।

 साइपाल गाउँपालिकाको केन्द्र रहेको काँडामा तीन दिनसम्म शिविर चल्ने र तिलगंगा आँखा प्रतिष्ठानका निर्देशक एवं वरिष्ठ नेत्ररोग विषेशज्ञ प्रा.डा. सन्दुक रुइतको टोलीले आँखा शिविर शल्यक्रिया लगायतका सेवा दिने उनले जानकारी दिए। 

कमेन्ट लोड गर्नुस