सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी–अत्तरिया ६ लेन सडकको निर्माण दुई पटक थप भएको समयमा पनि नसकिने

२०७७ असोज ७, ११:२६ कमल सावद

धनगढी– मोहनापुल हुँदै धनगढी भएर अत्तरिया जोड्ने ६ लेन सडकको निर्माण दुई पटक थप भएको समयमा पनि नसकिने देखिएको छ। निर्माण व्यवसायीले दुई पटक थप भएको समयमा पनि निर्माण नसकिने बताएका हुन्।

सडकको पहिलो खण्डका लागि २०७७ मंसिर ६ गते, दोस्रो र तेस्रो खण्डका लागि माघ १५ गते सम्मका निर्माण अवधि थपिएको थियो। दोस्रो र तेस्रो खण्डमा सडक निर्माणको ठेक्का पाएको राजेन्द्र निर्माण सेवाका कार्यकारी निर्देशक रोशन भट्टले माघभित्र सडक निर्माणको काम नसकिने बताए। उनले लकडाउनले काम प्रभावित भएकाले समयमै निर्माण कार्य सक्न समस्या भएको बताए।

‘अहिले पनि सडक निर्माणको काम जारी छ। हामी कालोपत्रेको लेयर थप्ने तयारीमा छौ,’ उनले भने, ‘माघसम्म सबै काम नसकिन सक्छ। त्यसैले ६ महिना म्याद थप्नुपर्ने देखिएको छ।’ दुई बर्षभित्र निर्माण सम्पन्न गर्ने गरी २०७४ मा निर्माणको सम्झौता भएको थियो। तर निर्माण सम्पन्न नभएपछि दुई पटक म्याद थप भईसकेको छ।

कोरोना भाइरस संक्रमणको त्रासले गत चैतबाट गरिएको लकडाउनले सडक निर्माणको काम प्रभावित भएको निर्माण व्यवसायीले बताउँदै आएका छन्। योजना प्रमुख होमबहादुर एसीका अनुसार मोहनापुल–अत्तरिया ६ लेन सडकको भौतिक प्रगति अहिले ७२ प्रतिशत पुगेको छ। ‘सडकको पहिलो तहमा कालोपत्रे गर्ने काम सकिएको छ,’ उनले भने, ‘कालोपत्रे गरिएको सडकमा अन्तिम लेयर थप्ने तयारी थालिएको छ।’

एक अर्ब ८४ करोडको लागतमा मोहनापुलदेखि अत्तरिया सम्मको १४ दशमलव २ किलोमिटर सडकमा अहिले फुटपाथ निर्माण तथा ग्रावेल र रेलिङ लगाउने काम जारी रहेको योजना कार्यालयले जनाएको छ। चालु आर्थिक वर्षमा ४२ करोड खर्च गर्न अनुमति दिइएको छ। कामको आधारमा रकम थप गर्न सकिने मोहनापुल–अत्तरिया ६ लेन सडक योजना कार्यालयका प्रमुख एसीले बताए।

सडकभित्र पर्ने तीन वटा पुल निर्माणको कार्य भने अझै सुरु भएको छैन्।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस