सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीका ६ बेसहारा दिदीबहिनीको जिम्मा एसओएसले लियो

२०७७ असोज ६, ०२:०० खबर संवाददाता

बैतडी: अभिभावक विहीन भएका बैतडीका ६ जना दिदीबहिनीको जिम्मा एसओएस बालग्रामले लिएको छ। जिल्लाको दशरथचन्द नगरपालिका वडा नम्बर १० को सत्पाली गाउमा रहेका उनीहरु बिगत २ वर्षदेखि अभिभावकविहीन थिए। ४ देखि १५ वर्षका ६ जना दिदीबहिनीहरुको हेरविचार गर्ने आफन्तहरु पनि थिएनन्।

३ वर्षअघि आमा मीनादेवी लावडल उनीहरुलाई छोडेर वेपत्ता भएकी थिइन्। आमा वेपत्ता भएको वर्षदिनपछि उनीहरुका बिरामी बुवा राजुरामको पनि मृत्यु भयो। त्यहाँबाट उनीहरु एक्लै थिए। सबैभन्दा जेठी १५ वर्षीया नीलमले बहिनीहरुको हेरविचार गरिरहेकी थिइन्। 

पछिल्लो समय उनीहरुको समस्या थाहा पाएपछि नगरपालिकाका सामाजीक विकास अधिकृत विनोदबहादुर चन्दले नगरपालिका र आफ्नो व्यक्तीगत तर्फबाट उनीहरुलाई मासिक खानेकुराको जोहो गर्दै आइरहेका थिए। तर उनीहरु राम्रोसंग पढ्नदेखि लिएर बस्नसम्म पाएका थिएनन्। उनीहरु साघुरो एक कोठे जंगल नजीकै रहेको जिर्ण घरमा बसीरहेका थिए।

उनीहरुको बारेमा विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशीत भएपछि बैतडीका प्रमुख जिल्ला अधिकारी लगायत सुरक्षा निकायका प्रमुख र नगरपालिकाका जनप्रतिनीधीले ती बेसहारा बालबालिकालाई एसओएसमा पठाउने सहमती गरेका थिए। समाचार आएपछि एसओएसमा राख्नको लागि बैतडीस्थित हनुमानध्वज गुल्मका गुल्मपति (मेजर) प्रविन थापाले समन्वय गरेका थिए। काभ्रे घर भएका उनले आफ्नो घर नजीकै पनौतीमा रहेको एसओएसमा राखिदिन पर्यो भनेर आग्रह गर्दा बालिकाहरुको त्यहा व्यवस्थापन भएको हो।

नेपाली सेनाले उच्च जोखीममा रहेका बालबालीहरुलाई व्यवस्थापन गर्नको लागि समन्वय गर्ने काम गरिरहेकोले आफुले पनि उनीहरुबारे थाहा पाएर एसओएसमा समन्यव गरेको मेजर थापाले बताए। उनले भने , ‘नेपाली सेनाले संस्थागत रुपमा पनि यस्ता काम गर्दै आएको छ। मानवीयताको हिसाबले पनि उनीहरुको अवस्थाबारे थाहा पाउदा साह्रै नराम्रो लाग्यो। गुल्मबाट पनि केहि खाद्यान्न सहयोग गरियो। दिर्घकालीन व्यवस्थापन मात्र उनीहरुका लागि उत्तम उपाए हो भन्ने लागेर धेरै एसओएसमा कुरा गरेको थिए।’ अब उनीहरु सबैसँगै बस्न पाउने भएकोमा खुसी लागेको उनले सुनाए। 

बालिकाहरुलाई एसओएसमा लैजाने कुरा अन्तिम चरणमा पुगेको प्रमुख जिल्ला अधिकारी मोहनराज  जोशीले बताए। उनीहरु जाने कुरा भइसकेपछि कागजात बनाउने काम पनि पुरा हुन लागेका बताउदै उनले भने, ‘यहि हप्ताभित्रै लग्नका लागि हामी एसओएसको प्रतिनीधीहरुलाई बोलाउने कुरा भएको छ। यहि हप्ताभित्र नानीहरुलाई पठाउने तयारी हुदैंछ।’

सबै कागजपत्रहरु बनाउने काम सकिन लागेको भन्दै अदालतबाट अन्तिम कागज बनाउन जुटेको नगरपालिकाका सामाजीक विकास अधिकृत विनोदबहादुर चन्दले बताए। उनका अनुसार बालिकाहरुलाई अहिलेसम्म १ लाख जती सहयोग आएको र खाता संञ्चालन गर्ने तयारी भएकोले अझै रकम आउने क्रम जारी छ। उनले भने, ‘कानुनी प्रक्रिया पुर्याउनुपर्ने भएकोले खाता खोल्न ढिलो भएको छ। प्रक्रिया पुग्नासाथ खाता खोलिने हो। खाता खोलेपछि पनि धेरैले सहयोग पठाउने आश्वासन दिनुभएको छ।’

बालिकाहरुलाई लिनको लागि बुधबारसम्म प्रतिनिधी आउने तयारी रहेको एसओएस बालग्राम काभ्रेका निर्देशक सुरेन्द्र अम्गाइले बताए। उनले भने , ‘बालबालिकाको लागि काम गर्ने संस्था भएकोले जहासुकैको बालबालिका पनि हाम्रै हुन। धनगढी, सुर्खेतमा ठाउँ रहेनछ। मलाई मेजर सापले राखिदिन भन्नुभयो। अनि राख्ने कुरा भयो। अब ल्याएर राख्छौं।’ 

ती दिदिबहिनीले सबै जना संगै बस्ने चाहना राखेका थिए।  अब एकै ठाउँमा बस्न र पढ्न पाउने भनेपछि खुसी लागेको निलमले बताइन्। उनले भनीन्, ‘खुसी लागेको छ। यसरी सबै बहिनीहरुसँग राम्रो ठाउँमा जाने भएपछि। ’

कमेन्ट लोड गर्नुस