सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलाका पशु स्वास्थ्य केन्द्र कार्यालय सहयोगीका भरमा चल्दै

२०७७ असोज ५, ०३:३६ नरेन्द्र कार्की

दार्चुला: दार्चुलाको मालिकार्जुन गाउँपालिकाभित्र रहेका चार वटा पशु स्वास्थ्य केन्द्रमा एक वर्षदेखि पशु चिकित्सक छैनन्। समायोजनको बेला सबै कर्मचारी जाँदा नयाँ कर्मचारी भने ती कार्यालयमा आएका छैनन्। 

प्रावधिक सहायक र नाप्रसको दरबन्दी रहेको पशु स्वास्थ्य केन्द्र अहिले कार्यालय सहयोगीले चलाइरहेका छन्। चार वटै पशु स्वास्थ्य कार्यालय अहिले कार्यालय सहयोगीले सञ्चालन गरिरहेका हुन। मालिकार्जुन गाउँपालिका पशु स्वास्थ्य संयोजक कल्यानसिह धामीका अनुसार समायोजनपछि कुनैपनि पशु स्वास्थ्य शाखामा कर्मचारी आएका छैनन्।

मालिकार्जुन गाउँपालिकाको वडा नम्बर ३ को मड, वडा नम्बर ७ को जोलजीवि, वडा नम्बर ५ को डाडाकोट, वडा नम्बर ८ को शंकरपुरमा पशु स्वास्थ्य शाखा छ। अहिले जोलजीवि र डाडोकाटमा कार्यालय सहयोगीले पशु स्वास्थ्य शाखा सुचारु गरेका छन्। 

कार्यालयमा कर्मचारी नआउँदा पशु स्वास्थ्य शाखामा कार्यालय सहयोगीको भरमा छोड्नु परेको पशु स्वास्थ्य संयोजक कल्यानसिह धामीले बताए। 

नाप्रसको दरबन्दी रहेको पशु स्वास्थ्य शाखामा कर्मचारी नहुँदा जोखिम मोलेर पशुको औषधि वितरण गर्नुपरेको जोलजीवि पशु स्वास्थ्य शाखाका कार्यालयस सहयोगी रामसिह धामीले बताए।  ‘हामीलाई औषधि वितरण गर्ने अधिकार छैन्, तर सेवाग्राहीको चापको कारण जोखिम मोलेरै औषधी दिन्छौ’ उनले भने।

गाउँपालिकाको पशु स्वास्थ्य शाखामै पाँच जनाको दरबन्दी रहेको भएपनि हाल एक जना मात्रै कर्मचारी छन्। कर्मचारीको विषयमा गाउँपालिकामा जानकारी आएपनि अहिलेसम्म पदपूर्ति हुन नसकेको पशु स्वास्थ्य शाखाले जनाएको छ।

नरेन्द्र कार्की दिनेश खवरका दार्चुला संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस