सुदूर नेपाललाई विश्वसँग जोड्दै

जुम्ली मार्सी धानमा ब्राउन स्टोप रोगको प्रकोप

फाइल फोटो
फाइल फोटो
२०७७ भदौ ३१, ०६:१४ रासस

जुम्ली मार्सी धानबालीमा ब्राउन स्टोप रोगको प्रकोप देखिन थालेपछि यहाँका किसान चिन्तित बनेका छन्। यस वर्ष अनुकूल मौसम परेकाले समयमै मार्सी धान रोप्न पाएपछि हर्षित बनेका किसान रोग देखिन थालेपछि चिन्तित बनेका हुन्। कृषि विज्ञसहितको टोलीले तातोपानी गाउँपालिका–४ र ५ मा मार्सीधान रोपेका खेतमा गरिएको अनुगमनबाट ब्राउन स्पोट रोग लागेको पाइएको हो।

टोलीले यहाँको तातोपानी गाउँपालिकाका –४ र ५ वडाका मार्सी धान रोपेका खेतमा गरेको अनुगमनबाट ब्राउन स्पोट रोग लागेको पाइएको हो। तातोपानी गाउँपालिकाका कृषि संयोजक धर्मराज आर्चायका अनुसार अनुगमनका क्रममा फाटफुट रुपमा व्लाष्ट रोग देखिएको छ भने मार्सी धानमा ब्राउन स्पोट रोग अलि बढी देखिएको बताए।

पर्याप्त सिँचाइ र नाइट्रोजनको अभावले मार्सी धानमा ब्राउन स्पोट रोग लाग्ने गरेपनि यो रोगका कारण मार्सी धानको उत्पादनमा भने कुनै गिरावट नआउने उनको भनाइ छ। मार्सी धान भित्रियाउने समयसम्म असिना नपरेको खण्डमा ब्राउन रोगले उत्पादन नघट्ने गाउँपालिकाका कृषि शाखाले जनाएको छ।

ब्राउन रोगका कारण उत्पादन नघटेपनि साउनमा भएको वर्षाका कारण केही स्थानमा उत्पादन घट्ने चिन्तामा किसान छन्। खेतभरी बालुवा भरिएपछि मार्सीखेत बगरमा परिणत भएका थिए। धान फल्ने बेला बालुवाले खेत भरिँदा उत्पादन सोचे जस्तो नहुने तातोपानीका –४ का किसान प्रेमराज पाण्डेले बताए। 

जलवायु परिवर्तनका कारण स्थानीय बालीमा लाग्ने रोग किरा व्यवस्थापन तथा उत्पादनमा वृद्धि गर्ने लक्ष्यका साथ लिबर्ड जुम्लाले हरेक वर्ष स्थानीय धानबाली र सिमी बालीको अनुसन्धान गर्दै आएको छ। जुम्लामा बिगत एक वर्षदेखि स्थानीय बाली धान र सिमीको संरक्षण गरी विभिन्न ठाउँमा ‘बीउ बैंक’को रूपमा काम गर्दै आएको छ। 

वर्षेनि मार्सी धानमा विभिन्न खाले रोग किरा लाग्ने गरेका छन्। तर वर्षैपिच्छे हुने अध्ययन अनुसन्धानले मार्सी धानमा लाग्ने रोग किरा नियन्त्रणको दिगो समाधान भने अझै हुन सकेको छैन। गत वर्ष मार्सी संरक्षणका लागि स्वदेशी तथा विदेशी विज्ञको टोलीले मार्सीको अनुगमान तथा अनुसन्धान गरेको थियो। यतिबेला जिल्लाका मार्सी धान उत्पादन हुने खेतमा धानको बाला झुलिसकेको छ।
 

कमेन्ट लोड गर्नुस