मृत्यु भइसकेपछि कोरोना परीक्षण नहुने
धनगढी: शंकास्पद रोगबाट मृत्यु भएकाहरुको कोरोना परीक्षण नहुने भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले बुधबारको नियमित प्रेस ब्रिफिङमा मृतकहरुको स्वाब लिएर कोरोना परीक्षण नगर्ने निर्णय भएको जानकारी दिए।
‘अब उप्रान्त शंकास्पद कुनै पनि रोगबाट मृत्यु भइसकेकाहरुको कोरोना परीक्षण हुने छैन। अबदेखि शवबाट स्वाब लिएर कोरोना जाँच नगर्नुहोला’, उनले भने, ’स्वास्थ्यका सबै सुरक्षा मापदण्ड पालना गरेर शव व्यवस्थापन गर्नुहोला।’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले कोरोना पुष्टि नभइ शंकास्पद मृत्यु भएको अवस्थामा पनि कोरोना परीक्षण नगर्ने निर्णय गरेको हो।