बैतडीका दुई स्थानीय तहमा विद्यालय सञ्चालन हुने
बैतडी: बैतडीका दुई स्थानीय तहले असोजदेखि विद्यालय खोल्ने तयारी गरेका छन्। स्वास्थ्य सुरक्षा सतर्कताका मापदण्ड अपनाएर शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाले विद्यालय संचालनमा ल्याउने तयारी थालेका हुन।
जिल्लामा कोरोना भाइरसको संक्रमण कम हुँदै गएको र लामो समयदेखि विद्यालय बन्द रहेकाले विद्यालय खोल्ने तयारी भएको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले बताए। यस्तै शिवनाथ गाउँपालिकाले पनि असोजदेखि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ।
शिक्षण सिकाईलाई सहज बनाउनका लागि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विद्यालय खोल्ने निर्णय भएको गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले जानकारी दिए। गाउँपालिकाले एक सूचना जारी गर्दै असोज ४ गतेदेखि नियमित रुपमा विद्यालय सञ्चालन गर्न निर्देशन दिएको छ।
लामो समयदेखि विद्यालय बन्द हुँदा विद्यार्थीहरुमा नकारात्मक असर परेकाले विद्यालय सञ्चालनको तयारी भएको स्थानीलय तहले जनाएका छन्। जिल्लामा अहिले कोरोना सक्रिय संक्रमित नरहेकाले स्थानीय तहहरुले विद्यालय सञ्चालनको तयारी गरेका हुन्।