सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलाको नौगाडमा ड्रागन फ्रुट खेती सुरु

२०७७ भदौ २९, ०२:१८ नरेन्द्र कार्की

दार्चुला: दार्चुलाको नौगाड गाउँपालिकामा ड्रागन फ्रुट खेती सुरु गरिएको छ। नौगाड गाउँपालिका वडा नम्बर ६ को मलान भन्ने ठाउँमा कृषि क्षेत्रका विज्ञ, तथा इन्जिनियरहरु मिलेर ड्रागन फ्रुट खेती सुरु गरेका हुन्।

ग्रिन ल्याण्ड कृषि तथा पशुफार्म नाम दर्ता गरेर यहाँका युवाहरुले पहिलोपटक ड्रागन फ्रुट खेती सुुरु गरेका छन्। कृषि क्याम्पस रामपुरबाट डिग्री गरेका कृषि विज्ञ महेन्द्रसिह धामीको नेतृत्वमा आइटी इन्जिनियर भक्तसिह ठगुन्ना र सिभिल इन्जिनियर कैलाश धामी लगायतको टिमले ड्रागन फ्रुट खेती सुरु गरेका छन्। 

स्थानीय शिक्षक दानसिह धामीको एक हजार आठ सय वर्गकिलोमिटर जमिन भाडामा लिएर खेती सुरु गरिएको इन्जिनियर महेन्द्रसिह धामीले बताए। पहिलो चरणमा आठ सय विरुवा र दुई सय पोलमा खेती सुुरु गरिएको उनले बताए।  
ड्रागन फ्रुट खेतीको सुरुवात गर्न युवाहरुले १० लाख बढी रकम खर्च गर्दैछन्। कृषि क्षेत्रका विज्ञ महेन्द्र धामी नौगाड ५ सेलाबगरका स्थानीय हुन्। कृषि पढिसकेपछि आफ्नै क्षेत्रमा केहि गर्नुपर्छ भन्ने भावना लिएर उनी आफ्नै ठाउँमा व्यवसाय गर्न तम्सिएका हुन्। 

अहिलेदेखि सुरु गरिएको ड्रागनले दुई वर्षपछि उत्पादन दिने धामीले बताए। ‘ड्रागनको बजार मूल्य राम्रो छ’ उनले भने, ‘  अरुले बाहिर गएर रोजगारी खोजिरहेको बेला आफुहरुले कृषि क्षेत्र पढेर आफ्नै क्षेत्रमा केहि गरौ भन्ने उद्देश्यले यो काम सुरु गरका छौं।’ 

ड्रागन फ्रुट खेती गर्न नौगाड गाउँपालिकाले प्रोत्साहन गरेपछि व्यवसायको थालनी गरेका उनीहरुले बताएका छन्। वडा नम्बर ५ र ६ को समर्थनमा गाउँपालिकाले पहिलो चरणमा दुई लाख रुपैयाँ ड्रागन फ्रुट व्यवसाय सञ्चालनको लागि सहयोग गरिएको गाउँपालिका अध्यक्ष प्रेमसिह धामीले बताए।  ‘कृषिमा सम्भावना यो क्षेत्रमा निकै छ’ उनले भने, ‘झन विज्ञ समूह नै आफैमा यो व्यवसायमा लागेपछि आगामी दिनमा पनि गाउँपालिकाले गर्ने सहयोग रहन्छ।’

ड्रागन फ्रुट व्यवसायको गाउँपालिका अध्यक्ष प्रेमसिह धामी, उपाध्यक्ष गौरीदेवी ठगुन्ना, वडा नम्बर ४ का वडा अध्यक्ष नन्दनसिह धामी, वडा नम्बर ५ का वडा अध्यक्ष रामसिह ठगुन्ना लगायतले निरीक्षण समेत गरेका छन्।

नरेन्द्र कार्की दिनेश खवरका दार्चुला संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस