सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराको भागेश्वर गाउँपालिकामा ३० टन क्षमताको कोल्ड स्टोर बन्दै

२०७७ भदौ २७, ०१:३९ खबर संवाददाता

धनगढी: डडेल्धुराको भागेश्वर गाउँपालिकामा ३० मेट्रिक टन क्षमताको चिस्यान केन्द्र(कोल्ड स्टोर)को निर्माण कार्य सुरु भएको छ। तरकारी उत्पादनका लागि पकेट क्षेत्र मानिने उक्त गाउँपालिकामा कुल ४१ लाखको लागतमा कोल्ड स्टोर बन्न लागेको हो। 

जम्मा ३ वटा चेम्बर रहने कोल्ड स्टोर गाउँपालिका र ग्रामीण जलस्रोत व्यस्थापन परियोजनाको संयुक्त लगानीमा निर्माण हुन लागेको गाउँपालिका अध्यक्ष कौशिला भट्टले बताइन। गाउँमै कोल्ड स्टोर बनेपछि कृषिमा आत्मनिर्भर बन्न खोजिरहेका किसानलाई धेरै सहज हुने उनले बताइन। ‘गाउँपालिकामा उत्पादन हुने तरकारी तथा फलफुल कोल्ड स्टोरमा राख्न पाएपछि किसानले मिहेनत अनुसारको मुल्य पाउँनेछन्’ उनले भनीन, ‘अहिलेसम्म कोल्ड स्टोर नहुँदा कृषकलाई बिउ किन्नुपर्ने बाध्यताको थियो, अब त्यसको अन्त्य हुनेछ।’

कोल्ड स्टोर संचालनका कोटेसन भइसकेको र सप्लार्यस समेत छनौट भइसकेको ग्रामीण जलस्रोत व्यस्थापन परियोजनाका गाउँपालिका जलस्रोत अधिकृत देवराज भण्डारीले बताए। ‘निर्माण कार्य सुरु भइसकेको छ, मंसीरसम्म संचालनमा ल्याउने लक्ष्य रहेको छ’ उनले भने, ‘अहिले गाउँपालिकामा कृषि सम्बन्धी थुप्रै कार्यक्रम संचालनमा आएकाले कोल्ड स्टोरले किसानलाई धेरै सहज हुनेछ।’ भागेश्वरमा कोल्ड स्टोर बनेपछि नजिकै रहेको अजयमेरु गाउँपालिकाका किसानलाई समेत तरकारी तथा फलफुल थन्क्याउन सजिलो हुने उनले बताए। 

भागेश्वर गाउँपालिकाले विगतदेखि नै उदाहरणीय कार्य गरिरहेको छ। गाउँपालिकाले गत वर्ष जिल्लामै पहिलोपटक स्मार्ट कार्ड प्रयोग गरी ‘सेनेटरी प्याड’ निकाल्ने मेसिन सञ्चालनमा ल्याएको थियो। त्यसैगरी जिल्लामै पहिलोपटक गाउँपालिकाले २० लाखको लागतमा २० वार्डको आइसोलेसन वार्ड निर्माण गर्न थालेको छ। जसको निर्माण कार्य अन्तिम चरणमा पुगेको बताइएको छ।   

 

कमेन्ट लोड गर्नुस