धनगढीका रिक्सा चालकलाई कोठा भाडा तिर्नै मुस्किल, छाक टार्न धौधौ
धनगढी- जनकपुरका विजयश्वर यादवलाई धनगढी आएको १६ वर्ष भयो। १३ वर्ष पाईदल रिक्सा चलाएका यादवले तीन वर्ष पहिले दुई लाख ५० हजारमा विद्युतीय रिक्सा किने।
रिक्सा चलाउन सुरु गरेपछि उनको दैनिक कमाई राम्रो भइरहेको थियो। तीन वर्षमा उनले रिक्सा खरिद गरेको ऋण त चुक्ता गरे तर एक सय २० दिन लामो लकडाउन र त्यसपछिको निषेधाज्ञाका कारण उनलाई अहिले घर भाडा तिर्न मुस्किल परेका छ। साझ–बिहानको खानाका लागि समस्या हुँदै आएकोमा घरभाडा ५० हजार पुगेपछि उनको निन्द्रा हराएको छ। ‘पाँच जनाको परिवार छ। दुई कोठा भाडामा लिएका छौ। मासिक ६ हजार घरको भाडा छ। खनाका लागि ऋण निकाल्दै आएका छांै’ उनले भने, ‘अहिले कोठा भाडा मात्र ५० हजार पुगेको छ। घरबेटी राम्रो भएर बस्न पाएका छौ।’
यो केवल उनको मात्रै समस्या होइन। कोरोना भाइरसको प्रभावले ६ महिनासम्म मजदुरी गुमेपछि कैलालीका रिक्सा चालकहरुको बिचल्ली भएको हो। कोरोना रोकथाम र नियन्त्रणका लागि एक सय २० दिनसम्म गरिएको लकडाउन र त्यसपछि जारी निषेधाज्ञाका कारण रिक्सा चालकहरुको बिचल्ली भएको छ। रिक्सा चलाएर साझ बिहानको छाक टार्दै आएका उनीहरुले अहिले दैनिकी चलाउनै मुस्किल भएको बताएका छन्।
अत्तरियाका टेकबहादुर खत्रीले ६ महिनासम्म गरिएको लकडाउनले पेशा समेत परिवर्तन गरेका छन्। अहिले उनले रिक्सा चलाउन छोडेका छन्। उनी अहिले दैनिक मजदुरी गर्न थालेको छन्। ‘पहिले भाडाको रिक्सा चलाउथे। दैनिक पाँच सय साहुलाई दिनुपर्ने हुन्थ्यो। लकडाउन भएपछि रिक्सा थन्कियो’ उनले भने,‘अहिले मजदुरी गर्दै आएको छु। मेरो कोठामा खानेकुरा समेत छैन्। अहिलेसम्म केहि खाएको छैन्।
लकडाउन र निषेधज्ञाको समयमा ऋण खोजेर परिवार पालेपनि घरभाडा तिर्न रिक्सा नै विक्रि गर्नुपर्ने बाध्यता आएको उनीहरुको दुखेसो छ। उनीहरुले सरकारबाट कुनै राहत समेत नपाएको गुनासो गरेका छन्। कोरोना भाइरसको महामारीका कारण बाच्न समेत मुस्कील भएको रिक्सा चालकहरुको गुनासो छ। रिक्साबाट आउने आम्दानीमा निर्भर रहेकाले उनीहरुलाई अहिले दैनिकी चलाउन मुस्किल भइरहेको हो।
झण्डै ६ महिना रिक्सा चलाउन नपाएका उनीहरुले सरकारबाट राहत समेत नपाएको गुनासो गरेका छन्।