बैतडीका बेसहारा दिदिबहिनीलाई सहयोग
धनगढी : बैतडीको दशरथचन्द नगरपालिका वडा नम्बर १० को सत्पालीमा रहेका ६ जना बेसहारा दिदीबहिनीलाई सीजी प्रादेशिक कार्यालय-७ को समन्वयमा सहयोग गरिएको छ। ३ वर्षअघि आमाले छोडेर गएको र २ वर्षअघि बुवाको मृत्यु हुँदा बिचल्लीमा परेका उनीहरुलाई खाद्यान्न सामग्री हस्तान्तरण गरिएको हो।
ती ६ दिदिबहिनी खोला छेउमा रहेको डरलाग्दो घरमा बस्छन्। अहिले सबैभन्दा जेठी १५ वर्षीय निलम लावडले ५ बहिनीहरुको हेरविचार गरिरहेकी छिन्। उनीभन्दा पछिकी बहिनी नितु १३ वर्षकी भइन्। त्यसपछिकी प्रिती १२ वर्षकी छिन् भने अर्की लक्ष्मी १० वर्षकी भइन्। यस्तै अर्की बहिनी विन्दु ९ वर्षकी छिन् भने सबैभन्दा कान्छी माया अहिले ४ वर्षकी छिन्। आमाले छाडेर जाँदा उनी एक वर्षकी थिइन।
बेसहारा दिदिबहिनीलाई चौधरी ग्रुपका बजार प्रतिनिधि प्रेमबहादुर कार्की र ताराप्रसाद धिक्तले उनीहरुको घरमै पुगेर एक क्विन्टल चामल, १० किलो दाल, एक पेटी तेल, १० किलो नुन, नुहाउने र लुगा धुने साबुन एक/एक दर्जन, २ कार्टुन चाउचाउ लगायतका खाद्य सामग्री हस्तान्तरण गरेका हुन।
आफुहरुले समाचारका माध्यमबाट बेसहाराबारे जानकारी पाएर सहयोग गर्न पुगेको बजार प्रतिनिधि ताराप्रसाद धिक्तले बताए। ‘उनीहरुको एकदमै नाजुक अवस्था छ। घर जिर्ण छ र उनीहरुको ओड्ने ओछ्याउने समेत फाटेका छन्’ उनले भने, ‘६ दिदिबहिनीले अन्यको समेत सहयोगको अपेक्षा राखेका छन्।’