सुदूर नेपाललाई विश्वसँग जोड्दै

जयपृथ्वी राजमार्ग की लाजमार्ग ?

२०७७ भदौ २३, ०२:४७

प्रताप ओली, बझाङ: जयपृथ्वी राजमार्गको बागथला चैनपुर सडक खण्ड अन्तर्गत अधिकांश ठाउँको कालोपत्रे काम नलाग्ने गरि बिग्रेको छ। सडकमा भएका ठूला–ठूला खाल्डा र वर्षातको समयमा खाल्डाहरुमा पानी जमेपछि यस राजमार्गमा यात्रा गर्ने यात्रुहरूले निकै सास्ती खेप्नु परिरहेको छ।

सडकमा खाल्डा परेर यात्रा गर्नै नसकिने अवस्था भइसकेको छ। राजमार्गको बागथलादेखि चैनपुरसम्मको ४५ किलोमिटरमा विभिन्न ठाँउमा खाल्डै खाल्डा परेका छन्। सडक मर्मतका लागी करोडौ रकम खर्च भए पनि सडकको अवस्था भने उस्तै छ।

विश्व बैंकको आर्थिक सहयोगमा करिब ३० करोडको लागतमा कालोपत्रे गरिएको सडक खण्ड हस्तान्तरण नगर्दै बिग्रेको थियो। ओटासिल प्रविधिमा आधारित यस सडकखण्डको कालोपत्रे गर्ने काम गुणस्तरहीन भएका कारण छिटो बिग्रिएको स्थानीयको आरोप छ। सडकको गुणस्तर राम्रो बनाउनुभन्दा पनि छिटो काम सकेर मुनाफा र कमिशन कुम्ल्याउनमा ठेकेदार र आयोजना कार्यालय लागेका कारण यस्तो समस्या भएको बझाङबासीको आरोप छ।

सडकको स्तरोउन्नती लागि बजेट विनियोजन हुने गरेको भए पनि ठेकेदार कम्पनीको लापरवाहीका कारण समयमै सडकको स्तरोन्ती हुन सकेका नसक्दा सास्ती खेपिरहनु परेको छ। अहिले यात्रुहरुले यो जयपृथ्वी राजमार्ग हो की लाजमार्ग हो भनेर समेत प्रश्न गर्न थालेका छन्।

सडकको स्तरोन्नतीका लागि सरकारले रणनैतिक सडक पुल निर्माण, सडक पूर्वाधार विकास कार्यक्रम, राजमार्ग स्तरोन्नति तथा पुर्नस्थापना कार्यक्रम र सडक क्षेत्र विकास आयोजना अन्र्तगतका कार्यक्रमबाट करोडौं रकम खर्च गरेको छ। यति धेरै रकम खर्च गर्दा पनि सडकको अवस्था भने परिवर्तन भएको छैन।

ठेकेदार कम्पनीले स्त्रोन्तीको काममा ढिलासुस्ती गर्दा यस्तो अवस्था आएको हो। सडक मर्मत हुन नसक्दा यात्रुले भनेको समयमा गन्तव्यमा पुग्न ढिलाइ हुने गरेको, कच्ची बाटोमा जस्तै गाडी हल्लिने भएकाले जटिल प्रकारका बिरामीहरूलाई यात्रा गर्न निकै दुख हुने गरेको स्थानीय दिपकराज जोशीको भनाइ छ। उनले भने, ‘सडकको अवस्था राम्रो नभएका कारण जटिल प्रकारका शल्यक्रिया भएका विरामीहरुलाई सकस हुने गरेको छ। कच्ची सडकमा जस्तै गरी गाडी हल्लीने भएका कारण राम्रै मानिस पनि विरामी पर्ने अवस्था सिर्जना भएको छ।’

सडक राम्रो नभएका कारण ठाउँ ठाउँमा गाडी बिग्रने गरेको यातायात व्यवसायीको भनाई छ। सडक भरि भएका खाल्डाखुल्डीका कारण गाडीको पट्टा भाँच्चिने, पानी पसेर हर्नले काम नगर्ने र इन्जिनले चाँडै काम गर्न छोड्ने गरेको यातायात व्यवसायी चक्र बोहराको बताए।

उनले भने, ‘बागथलादेखी चैनपुरसम्म पुग्न दुईदेखि अढाई घण्टाको बाटो हो। तर सडक राम्रो नभएको कारण ४५ किलोमिटरमा यात्रा गर्न ४ देखि ५ घण्टासम्म लाग्ने गरेको छ। वर्षायाममा सवारी साधनहरुबीच सकमै फसेर दिनभरी पर्खनुपर्ने अवस्था आउँछ। हाम्रा जिल्लाका नेताहरुलाई सडक स्तरोन्तीको बारेमा संसदमा बोलिदिन आग्रह गर्दा पनि कसैले वास्ता गर्दैनन्। ठेकेदार कम्पनि गुणस्तर हिन काम गरेर पैसा कुम्ल्याएर भाग्ने गरेका कारण आफुहरुले सास्ती खेप्नु परेको छ।’

सडकको समानान्तर निर्माण भएका सिँचाई कुलोहरूबाट चुहिएको पानी तथा विभिन्न शाखा सडक निर्माण गर्दा खसेको ढुंगा र माटोले सडक जयपृथ्वी राजमार्ग बिग्रेको डिभिजन सडक कार्यालयले जनाएको छ। जयपृथ्वी राजमार्गको विभिन्न खण्डमा जागृती निमार्ण सेवा, ग्वाल्लेक निमार्ण सेवा र जलजला निमार्ण सेवाले सडक स्तरोन्तीको ठेक्का लिएका छन्।

अहिले राजमार्गको बागथला देखि चैनपुर सम्मका सडकमा भएका खाल्डा पुर्ने र मोडहरु फराकिलो गर्ने काम भइरहेको जयपृथ्वी राजमागर्को साईड हेरिरहेका प्राविधिक बर्कबहादुर कठायत बताउँछन्। यसै आर्थिक वर्षभित्र सकिने लक्ष्य भएको भएपनि कोरोना महामारीका कारण भएको बन्दाबन्दीले गर्दा काम ढिला हुन गएको हो। स्तरोन्तीको काममा ठेकेदार कम्पनीले विभिन्न बाहाना बनाउनदै ढिलासुस्ती गर्ने गरेको उनको भनाई छ।
 

कमेन्ट लोड गर्नुस