आर्थिक अभावमा रोग पाल्दै बाजुराकी रजी
बाजुरा: बाजुराको बुढीनन्दा नगरपालिका –२ की ३५ वर्षीया रजी तिरुवाले आर्थिक अभावका कारण तीन वर्षदेखि रोग पालेर बसिरहेकी छन्। उनले लामो समयदेखि पाठेघर खस्ने समस्या भोग्दै आएको भएपनि आर्थिक अभाव हुँदा उपचार गर्न नसकेको स्थानीय स्वंयमसेविका राधा कार्कीले बताइन।
५ बच्चा जन्माएकी रजीलाई तेस्रो सन्तान जन्माउँदा नै पाठेघरको समस्या सुरु भएको थियो। तर विगत तीन वर्षदेखि उनको समस्या झनै बल्झिदै गएको रजीले बताइन।
तीन वर्ष पहिले कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा सञ्चालन भएको शिविरमा चिकित्सकले उनको पाठेघरको दुई ठाँउमा मासु पलाएको भन्दै शल्यक्रिया गरेका थिए। केही समय सामान्य सञ्चो भएपनि फेरि उनको समस्या पहिलाकै जस्तो भएको श्रीमान कर्ण तिरुवाले बताए।
समस्या आएपछि गत असारमा उनी उपचारका लागि जिल्ला अस्पताल बाजुरा पुगेकी थिइन्। अस्पतालले एक ठाँउमा मासु पलाएको र अर्को ठाँउमा घाउ भएको भन्दै सेती प्रादेशिक अस्पताल कैलाली रेफर गरेको थियो।
अस्पतालले रेफर गरेको भएपनि रजी तिरुवा भने आर्थिक समस्याका कारण घर फर्किएकी थिइन। ‘मार्तडीसम्म त जेनतेन गरेर गए, धनगढी जानलाई भाडा नभएपछि घरमै बसिरहेकी छु’ उनले भनीन। ‘सेतो पानी बग्छ। कहिलेकाही रगत समेत आउने गर्छ। तल्लो पेट दुखिरहने हुँदा सामान्य काम समेत गर्न सक्दैन’ उनले थपिन।
१५ वर्षको उमेरमै बिहे गरेकी रजीले १७ वर्ष हुँदा पहिलो सन्तान जन्माएको बताइन। ‘परिवार नियोजनको चेतना थिएन। धेरै बच्चा जन्माए, जन्माअन्तर पनि कम भयो। अहिले निकै कमजोरी भएको महसुस हुन्छ’ उनले भनीन।
उपचार गर्नका लागि गाँउमा ऋण खोजेको भएपनि कतै नपाएको उनका श्रीमान कर्णले बताए। ‘जग्गा बिक्रि गरौ भने त्यो पनि छैन’ उनले भने।
बाजुरामा रजी जस्तै धेरै महिला आर्थिक समस्याका कारण जटिल रोग पालिरहेका छन्। स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नभएकाले रकम नहुँदा जिल्लामा धेरै महिलाले रोग पालिरहेको महिला अधिकार मञ्च बाजुराकी अध्यक्ष रुखमणी शाहले बताइन।