सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडी: सेनाका मेजर थापाले बेसहारासँग मनाए छोराको जन्मदिन

२०७७ भदौ २१, ०३:१५ खबर संवाददाता

बैतडी: बैतडीस्थित हनुमानध्वज गुल्मका गुल्मपती सेनानी(मेजर) प्रविन थापाले आफ्नो छोराको जन्मदिन ६ जना बेसहारासँग मनाएका छन्। छोरा पृथकको छैटौं जन्मदिन उनले दशरथचन्द नगरपालिका वडा नम्बर १० को सत्पालीमा रहेका ६ जना दिदीबहिनीको घरमा मनाएका हुन्।

३ वर्षअघि आमाले छोडेर गएको र २ वर्षअघि बुवाको मृत्यु हुँदा उनीहरु बिचल्लीमा परेका छन्। उनीअरु खोला छेउमा रहेको डरलाग्दो घरमा बस्छन्। अहिले सबैभन्दा जेठी १५ वर्षीय निलम लावडले ५ बहिनीहरुको हेरविचार गरिरहेकी छिन्। उनीभन्दा पछिकी बहिनी नितु १३ वर्षकी भइन्। त्यसपछिकी प्रिती १२ वर्षकी छिन् भने अर्की लक्ष्मी १० वर्षकी भइन्। यस्तै अर्की बहिनी विन्दु ९ वर्षकी छिन् भने सबैभन्दा कान्छी माया अहिले ४ वर्षकी छिन्। आमाले छाडेर जाँदा उनी एक वर्षकी थिइन। 

मायालाई आमाले छाडेको एक वर्षपछि बुवाले सधैको लागि छोडेर जाँदा सबै बहिनीलाई जेनतेन गरेर हुर्काएको निलमले बताइन्। आफुहरुलाई बस्न, खान, लगाउन र पढ्न समस्या  भएको भन्दै उनले भनीन्, ‘आज सानो भाइले हामीसँग जन्मदिन मनाएर खानेकुरा दिएर जाँदा खुसी लागेको छ।’ 

केक काटेर खर्च गर्नुभन्दा दुःखमा रहेका बालबालिकालाई सहयोग होस् भन्ने हेतुले छोरोको जन्मउत्सव उनीहरुको घरमै गएर मनाएको मेजर थापाले बताए। छोराको जन्मदिनको अवसरमा थापाले विपन्न बालिबालिकालाई मासु, अण्डा, बिस्कुट, चाउचाउ, साबुन, तेल लगायतका खाजा दिएका छन्। साथै ब्यारेकको तर्फबाट पनि उनीहरुलाई केहि खाद्यान्न र कपडा सहयोग गरिएको थापाले बताए। 

मेजर थापाले छोराको जन्मदिनमा अन्य फजुल खर्च नगरेर असहाय बालिकाहरुलाई सहयोग गर्दा खुसी लागेको दशरथचन्द नगरपालिकाका सामाजीक विकास अधिकृत विनोदबहादुर चन्दले बताए। सबैले आफ्नो बालबालिकाको जन्मदिन यसैगरी मनाएर उनीहरुलाई सानैबाट सहयोगी बन्न प्रेरित गर्नुपर्ने आवश्यक रहेको उनले बताए। 

कमेन्ट लोड गर्नुस