सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा समयमै मल नपाएपछि धानको उत्पादन घट्ने चिन्ता

२०७७ भदौ २१, १२:०६ जनक विष्ट

धनगढीः सुदूरपश्चिमकै अन्नभण्डारका रुपमा रहेको कैलालीका किसानले समयमै मल नपाएपछि उत्पादन घट्ने चिन्ता व्यक्त गरेका छन्। धान बालीको उत्पादन बढाउन दुई पटक सम्म युरिया मल हाल्दै आएका किसानहरुले यसवर्ष भने अभावका कारण एकचोटी मात्रै हालेका छन् तैपनि पर्याप्त नभएको उनीहरुको भनाई छ।

कैलारी गाउँपालिका वडा नम्बर २ का किसान होरीलाल चौधरीले बजारमा मल नपाउँदा एक पटक मात्र धान बालीमा हाल्न पाएको बताए। तर अभावकै कारण बालीलाई आवश्यक पर्ने जति मल छर्न नसकेको उनी बताउँछन्।

अब भने धान पसाउन थालिसकेकाले मलको आपुर्ति भएपनि हाल्न नमिल्ने भएकाले यसवर्ष धानको उत्पादन घट्ने चिन्ता चौधरीको छ। कैलारी मात्र नभएर जिल्लाका अन्य स्थानमा समेत धान पसाउने बेला भईसकेकाले अब मल छर्न ढिलाई भईसकेको किसानहरुले बताएका छन्।

मल आपुर्तिको जिम्मा पाएका कृषि सामाग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोेरेशनको उदासिनताले किसानहरुले मल नपाएको गुनासो गरेका छन्। धानका बाला लाग्ने समय भईसकेपनि मागको ७० प्रतिशत आपुर्ति गर्ने जिम्मा पाएको कृषि सामाग्री कम्पनीसँग युरिया मलको मौज्दात नै सकिएको छ।

तर अगामी महिनाको दोस्रो साता सम्म मल धनगढी आईपुग्ने कृषि सामाग्री कम्पनी धनगढीका प्रमुख नवल सिह बोगटीले बताए। उनले अहिले देशभरी नै मलको अभाव भएकाले आपुर्तिमा कठिनाई भएको दावी गरे। मागको ३० प्रतिशत आपुर्ति गर्ने जिम्मेवारी पाएको साल्ट ट्रेडिङ कर्पोरेशनले भने तीन हजार मेट्रिक टन मौज्दात रहेको जनाएको छ।

साल्ट ट्रेडिङ कर्पोरेशन धनगढीका प्रमुख केशव पाण्डेले अहिले किसानहरुलाई सहकारी संस्थाहरु मार्फत कैलालीमा युरिया मल वितरण भईरहेको बताए। उनले मलको अभावलाई मध्यनजर गरी सोझै किसानले पनि खरिद  गर्न सक्ने व्यवस्था मिलाईएको पनि जानकारी दिए।

कैलालीका किसानहरुलाई मात्र दुई हजार पाँच सय मेट्रिक टन मल वितरण गरिने उनले बताए। तर किसानहरुले भने समयमै मल नपाएका कारण समस्या भएको बताएका छन्। प्रदेश सरकार र स्थानीय पालिकाहरुले समेत मलको आपुर्तिमा सहजीकरण नगरिदिएको गुनासो गरिएको छ।

सुदूरपश्चिमको कृषि मन्त्रालयले भने तत्काल साल्ट ट्रेडिङ कर्पोरेशनसँग मौज्दात मल किसानलाई वितरण गरिरहेकाले माग पुर्ति हुने दावी गर्दै आएको छ।

कृषि मन्त्रालयबाट हालै कृषि ज्ञान केन्द्र कैलालीको प्रमुखको जिम्मेवारी पाएका वरिष्ठ वागवानी विकास अधिकृत खग्रेन्द्र प्रसाद शर्माले साल्ट ट्रेडिङ कर्पोरेशनसँग मौज्दात मलले लगभग माग पूर्ति हुने बताए।     

 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस