बैतडीमा लोप हुँदैछन् प्रकृतिका कुचिकार गिद्ध
बैतडी: पछिल्लो बैतडीमा गिद्धहरु लोप हुँदै गएका छन्। प्रकृतिका कुचिकार मानिने गिद्धहरुको संख्या विभिन्न कारण घटेको छ।
जलवायु परिवर्तन, बासस्थान समस्या, विषादी प्रयोग र आहारा अभावमा गिद्धको संख्या घटेको वन उपभोक्ता महासंघ बैतडीका अध्यक्ष चक्रप्रसाद शर्माले बताए। गुँड बनाउने सिमलको रुख मासिँदै गएपछि गिद्ध पनि हराउँदै गएको उनले बताए।
विभिन्न जिल्लामा गिद्ध संरक्षणका लागि अभियान थालिएपनि बैतडीमा अहिलेसम्म यसो गरिएको छैन। गिद्ध संरक्षणका लागि सरकारी तथा स्थानीयस्तरबाट कुनै पहल नभएको स्थानीयहरु बताउँछन्।
पशुहरूमा प्रयोग गरिने डाइक्लोफेनिक औषधीले पनि गिद्धहरू लोप हुन थालेको जानकारहरू बताउँछन्। नेपालमा डाइक्लोफेनिक औषधि बिक्री–वितरणमा रोक लगाइएपनि भारतसँगको खुला सीमाबाट यस्तो औषधि भित्रिने गरेको छ। जिल्लामा भने डाइक्लोफेनिक औषधिको प्रयोग शून्यमा झरेको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका पशु विकास अधिकृत शिवराज भट्टले बताए।
अहिले विश्वभर २३ प्रजातिका गिद्ध पाइन्छन्। त्यस मध्ये दक्षिण एशियामा ९ र नेपालमा ८ प्रजातिका गिद्ध पाइन्छन्। नेपालमा पाईने ८ प्रजातिका गिद्धमा सानो खैरो, डंगर, सुन, गोब्रे, राज, हिमाली, खैरो र हाडफोर रहेका छन।
गिद्ध सिकारी चरा समूह अन्तर्गत पर्ने ठूला मांसाहारी पंंक्षी हो। यिनले आफैँ शिकार नगरी मरेका जनावरको मासु अर्थात सिनो मात्र खाने गर्दछन्। मरेका जनावरको सिनो र फालेको मासुजन्य फोहर पदार्थलाई खाई वातावरणलाई प्रदूषित, दुर्गन्धित र रोगमुक्त बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने गिद्धलाई ‘प्रकृतिको कुचिकार’ भनिन्छ। गिद्धहरूले विभिन्न हानिकारक किटाणुहरू भएको सडेगलेको मासु खान्छन् र त्यसलाई पचाउँछन्।