बक्सिङ प्रशिक्षक र निर्णायकको कोरोना बीमा
नेपाल बक्सिङ सङ्घले बक्सिङका प्रशिक्षक र निर्णायकहरुको कोरोना बीमा गरेको छ।
सङ्घले ३२ प्रशिक्षक तथा २० निर्णायक गरी ५२ जनाको कोरोना बीमा गरेको हो। सङ्घका प्रवक्ता श्याम अवालेका अनुसार सबैको जनही एक लाखका दरले कोरोना बीमा गरिएको हो। ललितपुरको ग्वार्कोस्थित एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडमा उनीहरुको बीमा गरिएको अवालेले जानकारी दिए।
बक्सिङ सङ्घका अध्यक्ष राम अवालेले बीमापत्र प्रमुख प्रशिक्षक प्रकाश थापामगर र एशियाली खेलकूदका कास्य पदक विजेता एवं सङ्घको प्रविधिक समितिका संयोजक दीपक महर्जनलाई हस्तान्तरण गर्नुभएको छ। यसअघि १३औँ दक्षिण एशियाली खेलकूद (साग) मा सहभागी बक्सिङका १६ खेलाडी तथा दुई प्रशिक्षकको कोरोना बीमा बक्सिङ सङ्घका केन्द्रीय सदस्य ओमनारायण श्रेष्ठले गरेका थिए।